राजनीति

ओली भएसम्म कोही भ्रष्टाचारी कारबाहीमा पर्दैनन्

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आफूलाई इमान्दार, विकासवादी, मितव्ययी नेता भनेर प्रचार गर्न खप्पिस छन् । तर उनले सधैं भ्रष्टाचारी र विवादास्पद व्यक्तिलाई जोगाउँदै आएको इतिहास छ । आफैं प्रधानमन्त्री भएका बेला होस् वा अरु नै प्रधानमन्त्री हुँदा होस्, ओलीले आफू निकट विवादास्पद व्यक्तिलाई जहिल्यै संरक्षण गरिरहेका छन् । ओली प्रधानमन्त्री भएका बेला ओम्नी, यति काण्ड सार्वजनिक भयो । कोरोनाका स्वास्थ्य सामग्री खरिदमा करोडौं भ्रष्टाचार भयो । त्यसबेला ईश्वर पोखरेल, भानुभक्त ढकाल जस्ता भ्रष्टाचार काण्डमा मुछिए ।

अर्थमन्त्री रहेका युवराज खतिवडा विद्युतीय कारलाई छुट दिने विषयले विवादमा तानिए । अग्रिम कमिसन लिएर विद्युतीय कारमा कर बढाएको उनीमाथि नीतिगत आरोप लाग्यो । विष्णु पौडेल ललिता निवास जग्गा व्यक्तिको नाम प्रकरणमा मुछिए । पौडेलका छोरा नवीनले किनेको जग्गा फिर्ता गरिदिएको भन्दै पौडेललाई चोख्याइयो ।

ओलीकै निर्देशनमा अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले पौडेललाई बालुवाटार काण्डमा जोगाइदिएका हुन् ।

बहालवाला सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा ७० करोड घुसकाण्डमा पदच्यूत भए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बिचौलियासँग बास्कोटाले ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक भएको थियो । तर बास्कोटामाथि कुनै छानबिन भएन । ओलीकै कृपाका कारण बास्कोटाले उन्मुक्ति पाए । वाइडबडी खरिद काण्डमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी मुछिए । जसमा चार अर्ब भ्रष्टाचार भएको तथ्य बाहिरिएको थियो । तर, केपी ओलीले भ्रष्टाचार नै नभएको दाबी गरे । जबकि सार्वजनिक लेखा समितिले समेत वाइडबडी खरिदमा भ्रष्टाचार भएको र संलग्नलाई कारबाही गर्न निर्देशनसमेत दिइसकेको थियो । तर अख्तियार प्रयोग गरेर त्यसलाई पनि सामसुम पारियो ।

अख्तियार प्रमुख आयुक्त राई आफैं भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् । नेपाल आयल निगमको आठ करोड भ्रष्टाचारमा राई मुछिएका थिए । तर उनलाई कारबाही नगरी ओलीले सिधै प्रमुख आयुक्त नियुक्त गरिदिए । अहिले तिनै राई नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् । अहिले नक्कली शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव टोपबहादुर रायमाझी तानिएका छन् ।

बादलकी श्रीमती नैनकला थापा र अख्तियार प्रमुख आयुक्त राईको नाम पनि मुछिएको छ ।

बहालवाला सचिव नै खोरमा पुगेकाले तर्सिएका ओली बिहीबार सिधै सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोषी नछुटुन्, निर्दोष नफसुन् भन्दै बादल र टोपबहादुरको बचाउमा उत्रिएका छन् । उनले नक्कली शरणार्थी प्रकरणलाई राजनीतिक रंग दिने प्रयास गरेका छन् । प्रहरीले अनुसन्धान सुरु नगर्दै पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री भइसकेका व्यक्ति यसरी प्रधानमन्त्रीलाई भेटेर कारबाही नगर्न दबाब दिनुले ओली कतिसम्म भ्रष्टाचारीलाई संरक्षण गर्दा रहेछन् भन्ने माथि उल्लिखित घटनाले पुष्टि हुन्छ । जबकि शरणार्थी प्रकरणमा प्रहरीले बादलका छोरा प्रतीक थापा, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सन्दीप त पक्राउ नै परिसके । अब बादल पनि तानिने सम्भावना बढेको छ । ‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । यो तानिएको हो कि तनाएको हो हामी अध्ययन गर्दैछौं । यो अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौं,’ ओलीले सिंहदरबारमा पत्रकारहरूसँग भने । आपराधिक कुकर्मको फाइल खुल्न थालेपछि सुप्रिमोहरूको यो आकस्मिक भेटघाटको उद्देश्य मुद्दा प्याक गर्ने संकेत देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *