देश

उपनिर्वाचनको परिणामले मध्यावधि चाहेको एमालेलाई ठूलो धक्का

काठमाडौं । अहिले जुन ढंगले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । यसले एमाले अध्यक्ष केपी ओलीको मध्यावधिको चाहनामा ठूलो धक्का लागेको छ ।

एमालेले एक महिनादेखि ग्रास रुट अभियान सुरु गरेको थियो । मध्यावधिको तयारीस्वरुप भन्दै एमालेले ग्रास रुट अभियान सुरु गरेको थियो । एमालेले यो अभियानबाट पार्टीको संगठन व्यापक विस्तार गरेको दाबी गरेको थियो । तर उपनिर्वाचनको एउटै क्षेत्रको परिणामले मध्यावधि निर्वाचन खोजेका ओलीको चाहनामा नराम्ररी झड्का लागेको छ । अब बारा २ र चितवन २ मा पनि घन्टीमै मात्र मत खसेको छ कि भन्ने आशंका गर्न थालिएको छ ।

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले जुन ढंगले मत ल्याइरहेका छन्, त्यो हेर्दा कांग्रेस, एमाले र माओवादीको समेत मत पाएको देखिएको छ ।मंसिरको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २६ हजार मत ल्याएका थिए । एमालेका उम्मेदवार एकबहादुर आलेले २० हजार मत ल्याएका थिए ।

त्यसबेला पनि कांग्रेसका उम्मेदवार पौडेललाई माओवादी र एकीकृत समाजवादीको समर्थन थियो । यसपटक पनि कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई माओवादी र एकीकृत समाजवादीको समर्थन छ ।एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार पनि मत ल्याउन सकेका छैनन् । चुनावको अघिल्लो दिन नै तनहुँ १ एमाले र रास्वपाबीच तालमेल भएको चर्चा चलेको थियो । तर रवि लामिछानेले त्यसलाई अस्वीकार गरेका थिए । अहिले वाग्लेले जुन मत पाएका छन्, त्यो कांग्रेस, एमाले, माओवादी, गोविन्दराज जोशी समूह सबैको हो । खनाललाई एमालेका कार्यकर्ताले भोट नहालेको देखिएको छ ।

माओवादीले कांग्रेस उम्मेदवार भट्टराईलाई मत नहाल्ने पहिले नै अनुमान गरिएको थियो । किनकि कांग्रेसलाई साइजमा ल्याउन पनि रास्वपालाई अघि बढाउनुपर्ने धेरै माओवादीको मत थियो । त्यसैले बारामा माओवादीको मत रास्वपाका रमेश खरेल र चितवनमा रवि लामिछानेलाई नै जाने अनुमान गरिएको हो ।

माओवादीले कांग्रेसलाई साइजमा ल्याउन रास्वपालाई मत दिएर जिताएमा कालान्तरमा त्यसको असर सोही पार्टीले बेहोर्नुपर्ने देखिन्छ । उपनिर्वाचनको ट्रेन्ड विश्लेषण गर्दा अर्को चुनावमा माओवादी चौथो शक्ति पनि नहुने देखिन्छ । त्यसबेला रास्वपाले कांग्रेस र एमालेलाई आच्छुआच्छु पार्ने छ । त्यसपछि तराईमा सिके राउतले सबै दललाई पछाडि पार्ने अनुमान गर्न थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *