देश

धनुषाकै नियति कांग्रेसले तनहुँमा पनि भोग्नुपर्ने

काठमाडौं । २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका रामवरण यादव धनुषा ५ बाट निर्वाचित भएका थिए । उनी नेपालको पहिलो राष्ट्रपति बने । उनी राष्ट्रपति बनेपछि उनले सांसद पदबाट राजीनामा दिए । उनले जितेको ठाउँमा उपनिर्वाचन भयो । तर उपनिर्वाचनमा कांग्रेस उम्मेदवार चन्द्रमोहन यादव हारे । उनी रामवरणका छोरा हुन् । चन्द्रमोहनलाई एमाले उम्मेदवारले पराजित गरेका थिए ।

अहिले तनहुँ १ मा १५ वर्षअगाडिकै इतिहास दोहोरिने अवस्था देखिएको छ । तनहुँ १ कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए । उनले सांसद पदबाट राजीनामा दिए । रिक्त स्थानमा कांंग्रेसका गोविन्द भट्टराई उम्मेदवार बने । तर उपनिर्वाचनको मतपरिणामको प्रारम्भिक रुझानअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेले चुनाव जित्ने देखिएको छ । उनी अहिले कांग्रेस र एमालेका उम्मेदवारभन्दा दोब्बर मतले अगाडि देखिएका छन् ।

जसरी मंसिरको निर्वाचनमा चितवन २ मा रवि लामिछानेले मत प्राप्त गरेका थिए, त्यहीअनुसार वाग्लेले मत पाइरहेका छन् । यस आधारमा खसेको ६३ हजार मतमध्ये वाग्लेले ३० हजारभन्दा बढी मत ल्याउने देखिएको छ । रास्वपाको कुनै संगठन छैन । कार्यकर्ता पनि छैनन् ।

तर समर्थककै मत यसरी खनिनुले नेपाली कांग्रेस, एमाले र माओवादीको अब राजनीतिक भविष्यमाथि खतराको घन्टी बज्ने देखिएको छ । आजदेखि चितवन २ र बारा २ मा पनि मतगणना हुँदैछ । तनहुँ १ मा जसरी घन्टीमा मत खसेको छ, त्यसैगरी बारा २ र चितवन २ मा पनि मत खसेको अनुमान गर्न सकिन्छ । यदि यसरी मत खसेको हो भने तीनवटै क्षेत्रमा रास्वपाले चुनाव जित्ने निश्चित छ ।

उपनिर्वाचनको मतपरिणामले जनता सधै हाम्रै हुन्, हाम्रो विकल्प छैन भन्ने भ्रम कांग्रेस, एमाले र माओवादीका नेतामा टुटेको हुनुपर्छ । तनहुँमा गोविन्द भट्टराई र सर्वेन्द्र खनालले हारेको हुने छैन, यो हार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, झलनाथ खनालको पनि हार हो ।

रास्वपाप्रतिको जनमतले अब ठूला दलका नीति र नेतृत्व दुवै फेल भएका छन् । अब दुवै परिवर्तन अनिवार्य छ । सच्चिने हो कि सकिने नेताहरूकै हातमा छ । विरासतको किल्लाहरु क्रमशः ढल्न थालेका छन् । जिर्ण पार्टी संरचनाहरु भत्काउन आवश्यक देखिएको छ । अब पार्टीमा अवसर नपाएका, ठूला नेताले भनेकै मान्नुपर्छ भन्ने नभएको सन्देश दिएको छ । जसले २०८४ को आमनिर्वाचनमा कांग्रेस, एमाले र माओवादीले आफ्नो अस्तित्व बचाउन पनि मुस्किल पर्ने छ ।

त्यसैले यो उपनिर्वाचन जनमतसंग्रह सावित हुने देखिएको छ । अब यति वर्ष जेल परें, यति संघर्ष गरे भन्ने दिन गयो । जो सक्षम छन्, त्यो नै अघि आउने छ । जसरी २० दिनअघि कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्दे संसद् यात्रामा पुगेका छन् । स्वर्णिम जस्ता सयौं मानिस कांग्रेस, एमालेमा छन् । तर तिनीहरूले अवसर पाएका छैनन् । अब वैकिल्पक शक्ति रास्वपा बन्ने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *