बैंक/ शेयर

कुन कुन वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा ?

काठमाडौं । कर्जा प्रवाह, निक्षेप अनुपातलगायतका विभिन्न नियम उल्लंघन गरेको आरोपमा नेपाल राष्ट्र बैंकले नौवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले साउनदेखि चैत मसान्तसम्म नौवटा वाणिज्य बैंकलाई कारबाही गरेको हो। केही बैंकलाई जरिवाना तिराइएको छ भने केहीलाई सचेत गराइएको छ ।

तत्कालीन एनसीसी बैंक र कुमारी बैंकलाई सचेत गराइएको छ । कुमारीले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुनेगरी गरेको र तत्कालीन एनसीसीले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधिविपरित एकै समूहलाई एकभन्दा बढी सहुलियत कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ।

तत्कालीन एनसीसीका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले उनलाई भने पाँच लाख जरिवाना गरिएको छ।सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ।

नेपाल बैंकलाई साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने तत्कालीन सेञ्चुरी कमर्सियल बैंकलाई दुई करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ। सेञ्चुरी अहिले प्रभु बैंकमा गाभिएको छ ।

कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार र नबिल बैंकलाई ६ करोड ४६ लाख रुपैयाँ बराबर जरिवाना गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *