रिबन

यसपटक चितवन गएनन् बालेन, रविसँग बिग्रिएकै हो सम्बन्ध ?

काठमाडौं । १३ दिन अघि शनिबार अबदेखि सिंहदरबारको फोहोर नउठाउने फेसबुक स्टाटस र त्यसपछि किन फोहोर नउठाइएको हो त्यसको १४ बुँदे स्पष्टीकरण सामाजिक सञ्जालमा हालेयता काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह सार्वजनिक रूपमा कहीँकतै देखिएका छैनन् । तीन दिनअघि बञ्चरेडाँडा पुगेका उनी त्यसयता मौन देखिएका छन् ।

सिंहदरबारका नेतालाई सिसडोलमै डम्प गर्नुपर्ने स्टाटस लेखेपछि बालेनलाई सार्वजनिक हुन निकै सकर परिरहेको छ । उनकै कारण अहिलेसम्म मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र शीतल निवास क्षेत्रको फोहोर उठ्न सकेको छैन । संघीय सरकारले आफ्नै ढंगले सिंहदरबारको फोहोर व्यवस्थापन गरिरहेको छ । तर अझै धेरै व्यवस्थापन हुन बाँकी छ ।

यहाँ चर्चा गर्न लागिएको बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्धमा आएको दरारबारे हो । मंसिरको निर्वाचनमा बालेन र रवि दुवैले प्रदेश सभा सदस्यका लागि भोट हालेनन् । रविको पार्टीले त प्रदेश सभा सदस्य निर्वाचनमा भाग नै लिएन । बालेन पनि प्रदेश खारेज गर्नुपर्ने मान्यता राख्छन् । बालेन काठमाडौंको मेयर निर्वाचित हुनुअघिसम्म रविसँग उनको सम्बन्ध राम्रै थियो । मेयर भएपछि पनि मंसिरसम्म दुवैबीच हार्दिक सम्बन्ध थियो । किनकि रवि र बालेनको चुनावी क्याम्पेनर एउटै हो । दुवैलाई प्रचार र आर्थिक सहयोग गर्ने टिम पनि एउटै हो । बालेन र रविलाई सेयर दलालहरूले सपोर्ट गर्ने गरेका छन् । रविको पार्टीबाट हरि ढकाल सांसद नै निर्वाचित भएका छन् । उनी चर्चित सेयर खेलाडी हुन् ।

बालेनलाई मेयरमा जिताएपछि उनका धेरै टिम रविको पार्टीमा आबद्ध भएका थिए । बालेनलाई सल्लाह दिने टिमसमेत अहिले पनि रास्वपामै छन् । गत मंसिरमा रवि चितवन २ मा उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा बालेन पनि श्रीमतीलाई लिएर भरतपुर पुगेका थिए । उनी दुई दिन सौराहा पुगेर काठमाडौं फर्केका थिए । तर बालेन र रविबीच सार्वजनिक रूपमा भने भेटघाट भएको तस्बिर बाहिर आएको छैन ।

रवि ४२ दिने गृहमन्त्री भएको अन्त्यतिर बालेन सहयोगका लागि मन्त्रालय पुगेका थिए । बालेनले बागमती नदी किनारका सुकुम्बासीका घरटहरा हटाउन सहयोग मागेका थिए । तर रविले सुकुमबासी हटाउने कुरा राजनीतिक भएको भन्दै सहयोग गर्न नसकिने बाध्यता सुनाए । बालेनसँग भेट भएको तेस्रो दिनमै रविको सांसद पद नै खुस्कियो । जसकारण उनले गृहमन्त्रीबाट राजीनामा दिए ।

बालेन रविले सुकुमबासी हटाउन महानगरलाई सहयोग गर्ने अपेक्षा गरेका थिए । तर रविले सहयोग नगरेपछि बालेन असन्तुष्ट बनेका छन् । रविले सहयोग गरेको भए अहिले बागमती नदी किनारका सुकुमबासी अझै त्यहीँ छन् । बालेन यसपटक रविको उपचुनावमा चितवन नजानुको कारण पनि यही रहेको स्रोतले बतायो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *