निर्वाचन-२०७९

सत्यता छैन तनहुँमा कांग्रेस र एमालेको धेरै भोट काटिने भनी गरिएको हल्ला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ र तनहुँ १ आफैंले जित्ने गरी व्यापक हल्ला गरेको छ । चितवन २ मा रवि लामिछाने आफैंैले पहिले पाएको मत बचाउने अवस्था छैन । अहिले तनहुँ १ मा कांग्रेस र एमालेको भोट काटिने भनेर हल्ला फैलाइएको छ । स्वर्णिम वाग्लेले मोटो चन्दा दिएपछि चर्चिन एक अनलाइनले तनहुँ १ मा कांग्रेसको ४० प्रतिशत र एमालेको ५० प्रतिशत मत रास्वपाले तान्ने भनेर सर्वेक्षणको नाममा जनमतको हुर्मत लिइएको छ ।

तर रियल ग्राउन्ड त्यस्तो छैन । अहिले कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति तनहुँ १ मा लगाएको छ । गठबन्धनका शीर्ष नेतादेखि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तनहुँमै छन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई आफैं योग्य उम्मेदवार भएकाले तनहुँ १ मा उनी विजयी हुने सम्भावना धेरै छ । यो क्षेत्र नेपाली कांग्रेसको गढ पनि हो । २०७४ को निर्वाचनबाहेक अहिलेसम्म कांग्रेस यो निर्वाचन क्षेत्रमा पराजित भएको छैन ।

०७४ मा एमाले र माओवादी गठबन्धन भएकाले कांग्रेसका रामचन्द्र पौडेल झिनो मतान्तरले पराजित भएका थिए । मंसिरको आमनिर्वाचनमा यहाँ करिब पाँच हजार मतले हार–जितको फैसला भएको थियो। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल २५ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए । उनका निकट प्रतिद्वन्द्वी एमालेका एकबहादुर मगरले झन्डै २० हजार मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए। तनहुँ १ मा व्यास र भानु नगरपालिका, बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका पर्छन् ।

यसपटक कांग्रेसका उम्मेदवार भट्टराईलाई माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र जसपाको समर्थन छ । एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा.स्वर्णिम वाग्ले उम्मेदवार छन् । खनाल मंसिरको निर्वाचनमा काठमाडौं ६ मा पराजित भएका व्यक्ति हुन् । वाग्ले भने चैत १६ गते कांग्रेस छाडेर रास्वपामा प्रवेश गरी उम्मेदवार बनेका हुन् ।

त्यसैले वाग्लेले कांग्रेसको ४० प्रतिशत मत काट्छन् भनेर भ्रमपूर्ण प्रचार गरिएको छ । कांग्रेसबाट दुई दुईपटक राष्ट्रिय योजना आयोगमा नियुक्ति भएर चर्चित बनेका वाग्ले कांग्रेस उम्मेदवार भट्टराईका मुख्य प्रतिस्पर्धी भने हुने देखिएको छ ।

एमालेले स्थानीय उम्मेदवारलाई नउठाएकाले त्यसको फाइदा वाग्लेलाई हुने देखिन्छ । तर पनि उनले जित्ने पर्याप्त मत भने पाउने देखिएको छैन । तर अहिले एमालेको ५० प्रतिशत र कांग्रेसको ४० प्रतिशत मत बाँडिने भन्दै गोयबल्स शैलीले रास्वपाले भ्रमपूर्ण प्रचार गरिरहेको छ ।अघिल्लो निर्वाचनमा तनहुँमा कांग्रेसबाट असन्तुष्ट बन्दै उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार आठ सय ८६ मत ल्याएका थिए ।

तर यसपटक जोशी समूह तठस्थ बस्दै आएको छ । उसले अहिलेसम्म कसैलाई समर्थन गरिसकेको छैन । तर रास्वपाले यसपालि जोशी समूहले आफूलाई समर्थन गर्ने भनेर प्रचार गरिरहेको छ । कांग्रेसले २०७९ को निर्वाचनका बागी र अन्तर्घाती नेता कार्यकर्ताको कारबाही फिर्ता गरिसकेकाले जोशी समूहको मत कांग्रेसका उम्मेदवार भट्टराईले पाउने अवस्था छ ।

कांग्रेस उम्मेदवार भट्टराई आफैं पनि लोकप्रिय छन् । नेविसंघको पूर्वअध्यक्ष, तरुण दलको महासचिव भइसकेका भट्टराईले इमान्दार नेताको छवि बनाएका छन् । अवसर नै नपाए पनि अहिलेसम्म तनहुँका विकास र खानेपानीको संकट निवारण गर्न उनले खेलेको भूमिका कारण मतदाताले न्याय गर्ने कांग्रेस नेता कार्यकर्ताको विश्वास छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *