काठमाडौं । एमालेमा भीम रावल र लेखराज भट्टबीच हार्दिक सम्बन्ध छैन । दुवै सुदूरपश्चिमका नेता हुन् । सुदूरपश्चिममा रावलको प्रभाव धेरै छ । तर एमालेको १०औं महाधिवेशनपछि अध्यक्ष केपी ओलीले रावललाई हटाएर भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाएपछि एमालेमा विवाद छ । जसकारण गत मंसिरमा सम्पन्न चुनावमा एमालेले धेरै ठूलो क्षति बेहोरेको थियो । अहिले एमालेमा भीम रावल ‘इन’, लेखराज ‘आउट’ को चर्चा छ ।
एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनका बेलाको तिक्तता बिर्सेर नेता रावललाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेका छन् । रावललाई कुनै भूमिका नदिई जिम्मेवारविहीन बनाएर राख्दा सुदूरपश्चिमलगायत अन्य प्रदेशमा पार्टी कमजोर बनेको निष्कर्ष निकाल्दै ओलीले महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेका हुन् ।
एमालेले भीम रावलसित वार्ता गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता टोली बनाएको छ । सो टोली र रावलवीच एक चरणमा वार्तासमेत भइसकेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा साढे दुई घण्टा भएको छलफल सकरात्मक रहेको रावलले ट्वीट गरेर जानकारी दिएका थिए ।
वार्ता टोली गठनदेखि नै उत्साहित रावल समर्थकहरु अहिले निकै हौसिएका छन् । एमाले सांसद दयालबहादुर शाही, पर्यटन विभागका रमेश कुँवरलगायतले ओली र रावललाई पटक–पटक भेटेपछि वार्ता टोली बनेको एमाले वृत्तमा चर्चा छ । खास गरेर रावल सक्रिय नहुँदा सुदूरपश्चिमसहितका देशभरका १० वटा निर्वाचन क्षेत्रमा एमाले हारेको राजनीतिक हिसाब दयालबहादुरले अध्यक्षलाई बुझाएपछि वार्ताको वातावरण बनेको बताइन्छ ।
एमालेको १०औं महाधिवेशनमा रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि उनलाई भूमिकाविहीन मात्र होइन, पार्टीबाट निकाल्नेसम्मका हर्कत भएका थिए । तर रावलले भने आफूले कुनै पनि हालतमा पार्टी नछाड्ने घोषणा गरिसकेका छन् । उनले ४० वर्ष बिताएको पार्टीमै रहने उल्लेख गरेका छन् । रावललाई पार्टीको पदाधिकारीसरहकै हैसियत दिने तयारी भएको स्रोतले बतायो ।
उता, पूर्वमाओवादी नेता लेखराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको घटनाले एमाले वृत्तमा तरंग पैदा भएको छ । तत्कालीन नेकपाको विभाजनमा ओलीलाई साथ दिएका र त्यसयता माओवादीसँग ‘पानी बाराबार’ को अवस्थामा रहेका भट्टले एकाएक आफ्नै घरमा बोलाएर प्रचण्डसँग भेट गरेपछि एमालेका शीर्ष नेताहरु सबैभन्दा धेरै सशंकित भएका हुन् । गत चैत २५ गते प्रचण्डले कैलालीको अत्तरियास्थित भट्टको घरमा पुगेर भेटघाट गरेका थिए ।
उक्त भेटलाई भट्टले सामान्य रुपमा लिनुपर्ने बताइरहँदा एमाले नेताहरुले भने शंका गरेका छन् । सुदूरपश्चिम पुगेका बेला प्रचण्ड भट्टको घरमा छिरेको भनिए पनि वास्तवमा योजनाबद्ध भेटघाट भएको बुझेपछि एमाले नेताहरु तरंगित भएका हुन् । किनभने एमालेमा सन्तुष्ट नरहेका भट्टलाई अध्यक्षसँग भेटाउन माओवादी सुदूरपश्चिम प्रदेशका नेताहरु लामो समयदेखि निरन्तर क्रियाशिल थिए ।



