काठमाडौं । एमाले र राप्रपा बाहिरिएसँगै दोस्रोपटक संसदबाट विश्वासको मत लिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्यमा लागेका छन् ।
मन्त्रिपरिषदमा आन्तरिक भागबन्डा मिलाउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको कार्यदल छलफलमा जुटेको छ । साथै, कांग्रेस पनि छलफलमा जुटेको छ । तर मन्त्रालयको भागबन्डा पेचिलो बनेको कांग्रेस सांसद चित्रकारले जानकारी दिए ।
कांग्रेसले ६ मन्त्रालयमा दाबी गरेको छ । तर सात सांसद रहेको एकीकृत समाजवादीले तीनवटा मन्त्रालय दाबी गरेकाले सहमति जुट्न नसकेको नेता चित्रकारले बताए । यदि एकीकृत समाजवादी दुई मन्त्रालय लिन तयार भएमा कांग्रेसको भागमा पाँचवटा मात्रै मन्त्रालय पर्ने छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित पाँचवटा मन्त्रालय लिएको छ । बागमती प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद् छ ।
प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसको ३७ सांसद छन् । तर, २१ सांसद रहेको माओवादीले पनि पाँच मन्त्रालय लिने, ३७ सांसद रहेको कांग्रेसलाई पनि पाँच मन्त्रालयमै सीमित पार्न खोजिएपछि बागमती प्रदेश सरकार विस्तारमा ढिलाइ भइरहेको हो ।
कांग्रेसमा बागमती प्रदेश दलका नेता बहादुरसिंह लामा वा उपनेता रामकृष्ण चित्रकारमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने विषयमा छलफल चलिरहेको छ । लामा वेटिङ मुख्यमन्त्रीका रूपमा रहेकाले चित्रकारको नेतृत्वमा सरकारमा जानुपर्ने मत बलियो बन्दै गएको छ ।
कांग्रेसबाट मन्त्री बन्न चाहनेको संख्या बढ्दै गएको छ । कांग्रेसबाट श्रीराम लामिछाने, सुरजचन्द्र लामिछाने, छिरिङदोर्जे लामा, तीर्थ लामा, रमेश महतलगायत मन्त्री बन्न लबिङमा लागेका छन् ।




