राजनीति

स्वर्णिम वाग्लेले गुमाएको स्वर्णिम अवसर

काठमाडौं । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले बिहीबार दिउँसो कांग्रेस छाडेर राति नै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यता लिन पुगे । रविको नेतृत्व स्वीकार्न पुगेसँगै अहिले उनको आलोचना भइरहेको छ ।

कांग्रेसमा वाग्लेले अवसर पाएकै हुन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले नै राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष बनाएर एकाएक चर्चामा ल्याइदिएका थिए । वाग्लेकै कारण कांग्रेसले लोकप्रियता हासिल गरेको भने होइन । कांग्रेसको चुनावी घोषणापत्र लेखन समितिको सदस्य पनि देउवाले नै दिएका थिए । तर अहिले वाग्लेले उनै देउवाको मानमर्दन हुने गरी स्टाटस लेखेर पछि पार्टी फर्कने ठाउँसमेत राखेनन् ।

खासमा कांग्रेसमा डा.विश्व पौडेललाई आरजु राणा देउवाले च्यापेकोमा उनी असन्तुष्ट थिए । वाग्ले चितवन १ बाट उम्मेदवार बन्न चाहन्थे । तयारी पनि गरेका थिए । तर आरजुकै जोडबलमा विश्व पौडेलले टिकट पाएदेखि नै वाग्ले असन्तुष्ट बन्दै आएका थिए । कांग्रेस महामन्त्री गगन थापाले समय वाग्लेलाई काठमाडौं ४ बाट उम्मेदवार बनाउन चाहेका थिए । तर उनकै कारण सम्भव भएन । चुनावपछि पनि वाग्ले कांग्रेस महामन्त्री थापा र नेता शेखर कोइरालासँग धेरै जिल्लामा अन्तरक्रिया गरेर हिँडे । अवसर दिन चाहेका थिए । तर अहिले तनहुँ २ मा उम्मेदवार बन्नकै लागि उनले रवि लामिछानेको दौराको फेर समाउन पुगेकाले उनको लोकप्रियता स्वाठै घटेको छ ।

वाग्ले राष्ट्रपति रामचन्द्र पौडेलको वैदेशिक र आर्थिक सल्लाहकार बन्न चाहन्थे । त्यसका लागि उनले पौडेलसँग लबिइङ गरिरहेका थिए । पछिल्लो दुई साता उनले शीतल निवासमा व्यापक दबाब बढाएका थिए । तर कांग्रेस सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले थाहा पाएपछि तुरुन्तै परराष्ट्र सल्लाहकारमा डा.सुरेशचन्द्र चालिसे र आर्थिक सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल नियुक्त भएपछि वाग्लेले एकाएक कांग्रेस छाड्ने निर्णय गरेको उनी निकट नेताहरू बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *