काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिइएको छ । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्ने जिम्मा सभापति देउवालाई दिएको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुन गइरहेको चितवन २ र तनहुँ २ मा उपनिर्वाचनका उम्मेदवार टुंगो लगाएको थियो । जसअनुसार तनहुँ २ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ । बारा २ मा भने चैत १९ गते बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउन प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।
कांग्रेसबाट मन्त्री बन्ने नाम टुंगो लगाउन पार्टीका शीर्ष नेताहरूको बैठक देउवा निवास धुम्बाराहीमा बस्दै छ । सानेपा बैठकपछि नेताहरु धुम्बाराही लागेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बुधबार बसेको आठदलीय गठबन्धन बैठकले बिहीबार सरकारलाई पूर्णता दिने निर्णय गरेको थियो । जसअनुसार आज सबै दलले आ–आफ्नो दलबाट मन्त्री हुनेको नाम छनोट गरिरहेका छन् ।
कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, प्रवक्ता डा.प्रकाशशरण महत, सहमहामन्त्री किशोरसिंह राठोर, केन्द्रीय सदस्यहरू एनपी साउद, सीता गुरुङ, रमेश रिजाल, डिकबहादुर लिम्बू मन्त्री बन्ने सम्भावना छ ।



