प्रविधि

साइबर आक्रमण बढेकोमा प्राधिकरण सचेत छ

दूरसञ्चारमा भएका प्रगति, त्यस क्षेत्रमा भएका परिवर्तन र अरु क्षेत्रले प्राप्त गरेका सुविधाबारे नेपाल दूरसञ्चार प्राधिकरणले चेतनामूलक कार्यक्रम गरिरहेको छ । त्यसबाहेक दूरसञ्चार क्षेत्रका नयाँ प्रविधि भित्र्याउने हैसियतले दूरसञ्चार क्षेत्रमा भएका आमूल परिवर्तनको आत्मसात गर्दै क्रमशः त्यसलाई नेपालमा पनि लागू गर्ने हिसाबले प्राधिकरणले विभिन्न किसिमका कार्यक्रम, अध्ययन तथा अनुसन्धान गरिरहेको छ । प्राधिकरण स्थापनाको २५औं वर्ष पार गरिसकेपछि निरन्तर यस क्षेत्रमा लागिरहेको छ ।

हालसम्म दूरसञ्चार प्राधिकरणले ७०८ स्थानीय निकायका पाँच हजार नौ सय ३३ वडा कार्यालय, चार हजार दुई सय ९९ स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय १८ सामुदायिक विद्यालय गरी १६ हजार दुई सय आठ स्थानमा इन्टरनेट सेवा पुर्‍याइसकेको छ । केही छुटफुट भएका केही विकट स्थान छन्, जहाँ प्राधिकरणले चैत मसान्तभित्र सूचना प्रविधिको पहुँच पुर्‍याउने गरेर कार्यक्रम अगाडि बढाएको छ ।

विशेषगरी ग्रामीण दूरसञ्चार कोषको प्रयोगबाट यी सरकारी निकायमा प्राधिकरणले सूचनाको पहुँच पु¥याएको छ । सूचनाको पहुँचबाट अधिकतम फाइदा लिन सकून् भन्ने उद्देश्यले प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरेर यी योजना अगाडि सारेको हो । विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय छनोट गर्नुका कारण धेरैभन्दा धेरै मानिस व्यस्त हुने ठाउँ भएकाले पनि हो । ती ठाउँमा पहिला आइसिटीको पहुँच पुर्‍याउन सक्यो भने अधिकतम मानिसलाई कभर गरी उनीहरूलाई सेवा पुर्‍याउने उद्देश्यले प्राधिरकणले प्रारम्भिक चरणमा स्वास्थ्य संस्था, वडा कार्यालय, सामुदायिक विद्यालय छनोट गरेका हौँ ।

दूरसञ्चार सेवामा निजी क्षेत्रको प्रवेश गराइसकेपछि जुन हिसावले दूरसञ्चार सेवाको कभरेज बढेर गयो त्यसमा सन्तोष गर्ने ठाउँ छ । तर यसोे भन्दै गर्दा कुनाकाप्चा, ग्रामीण बस्तीमा आफूले भनेको समयमा सेवाको प्रयोग गर्न नपाइने, त्यसको प्रयोगमा कमी हुने समस्या अझै पनि छ । तसर्थ त्यस्ता पकेट क्षेत्रमा पनि कभर हुने गरेर प्राधिकरण दूरसञ्चार सेवाको समानुपातिक हिसाबले विकास तथा विस्तार होस् भन्ने कार्यमा लागिरहेको छ ।

विशेष गरेर सहरी क्षेत्रमा सेवाप्रदायकहरूको आफ्नो पनि बिजनेस केस हुने, त्यहाँबाट आम्दानी हुने भएकाले आफैँ पनि सहरी क्षेत्रमा आफ्नै हिसाबले सेवा विस्तार गरिरहेका हुन्छन् । तर ग्रामीण क्षेत्रमा उनीहरूको बिजनेस नबढ्ने भएकाले पनि कतिपय क्षेत्रमा दूरसञ्चारको पहुँच पुग्न नसकेको हो । त्यसैले प्राधिकरणले ग्रामीण विकास कोषको रकम उपयोग गर्ने योजना बनाएर कोषमार्फत गाउँगाउँसम्म इन्टनेटको पहुँच पुर्‍याएको हो ।

पूर्वाधार सेवाप्रदायकको अनुमतिपत्र जारी गरिसकेपछि एउटै तार वा एउटै इन्फ्रास्टक्चरबाट मल्टिपल सेवाप्रदायकहरूले त्यही त्यही पूर्वाधार प्रयोग गरेर सेवा दिन सक्ने किसिमको वातावरण बनाउन प्राधिकरण लागिरहेको छ । र, चाँडै यो विषयलाई सम्बोधन गरेर अगाडि लैजाने र सेवा प्रदायकहरूलाई स्तरीय बनाउन नियमित रूपमा अनुगमन गर्ने, निर्देशन दिने कार्य गर्दै आएको छ । तर कतिपय विषय हाम्रो नियन्त्रणभन्दा बाहिरको वस्तु वा व्यक्तिबाट यसमा आक्रमण हुन सक्ने भएकाले त्यसतर्फ पनि सचेत छ ।

साइवर सुरक्षा अहिले जल्दोबल्दो विषयको रूपमा अगाडि आएको छ । मान्छेहरूलाई विभिन्न ठगीसम्बन्धी सन्देश जस्तै चिट्ठा नपरी चिट्ठा प¥यो भन्ने धेरै हदसम्म अघि आइरहेका छन् । त्यसका लागि ग्राहक आफैँ पनि सचेत हुनुपर्ने देख्छु । जस्तो, नचिनेको मानिसबाट फोन, मेसेज आउँदा ग्राहक स्वयं नै सचेत हुनुपर्छ । कस्ता कुरा हुन् ? कतिको विश्वसनीयता छ ? चिनेको मान्छे हो वा होइन ? एकिन गरेरमात्र कुरा गर्नुपर्छ । वित्तीय ठगीको रूपमा कुरा गर्दा कतिपय मानिसले चिठ्ठा नभरी चिट्ठा प¥यो भन्दा चाँडो विश्वास गर्दा ग्राहकहरू पीडित हुने गरेका छन् । यस्ता कुरामा आफैं सचेत हुनुपर्छ । गलत क्रियाकलापले भएको अपराधका विषयमा पनि प्राधिकरण समाधानका लागि प्रयासरत छ ।

प्राधिकरणले जति पनि विद्यालयमा आइटी ल्याबको स्थापना गर्‍याैं, त्यति नै विद्यालयमा सामग्री पुर्‍याएको छ । ती सामानको भरपूर प्रयोग गर्न शिक्षा दिने मान्छेहरूको अभाव नहोस् भनेर शिक्षकलाई तालिम दिने व्यावस्था गरेका थियौँ । विद्यालयमा स्थानीय शिक्षकहरूलाई एक महिने, १५ दिने तालिम दिएर सामग्रीको प्रयोग गर्न दक्ष बनाएका थियौँ । तालिम लिइसकेका शिक्षकहरूको सरुवा हुने, आफूले ग्रहण गरेको शिक्षा, सीप, तालिम अरुलाई हस्तान्तरण नगर्ने जस्ता समस्या देखिने गरेका छन् । प्राधिकरणले सम्बन्धित निकायलाई भनेर त्यस्ता ठाउँमा टेक्निकल जनशक्ति पठाएर समस्या समाधान गर्दै आएको छ ।

एमडिएमएसका लागि प्राधिकरण तयारी अवस्थामा छ । एमडिएमएस लागू भएपछि मोबाइलबाट हुने आयात वा त्यसको सुरक्षाका हिसाब अलि बढी संवेदनशील भएकाले प्राधिकरण गम्भीर छ । फाइभजीको फ्रिक्वेन्सीलाई कसरी अप्सनमार्फत वितरण गर्न सक्छौँ ? त्यो हिसाबले लागिपरेका छौँ । फोरजी सेवा विस्तारका लागि सेवाप्रदायकलाई बारम्बार फलो गरिहेका छौँ । अहिले ७७ जिल्लामै फोरजी सेवाविस्तार भइसकेको छ ।

(आचार्य नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक हुन्)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *