प्रविधि

नेतृत्वकै इसारामा टेलिकमको सेवा पटकपटक अवरुद्ध, एक महिनामै घटे साढे तीन हजार इन्टरनेटका ग्राहक

काठमाडौं । जतिसुकै ठूलो र स्रोतसाधनयुक्त संस्था भए पनि नेतृत्वमा बस्ने व्यक्ति कमजोर बन्यो भने के हालत हुन्छ भन्ने उदाहरण नेपाल टेलिकम बनेको छ । एक वर्षअघिसम्म देशकै सबैभन्दा बढी नाफा कमाउने टेलिकम अहिले तीव्र रूपमा ओरालो लागिरहेको छ ।

एक वर्षअघि विभिन्न शक्ति प्रयोग गरेर टेलिकमको प्रबन्ध निर्देशक नियुक्त बन्न सफल सुनिल पौडेलकै कारण अहिले संस्थाको भविष्य ओरालो लाग्न थालेको छ । पौडेल एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा निकट हुन् । एमालेकै प्रभावमा परेर तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पौडेललाई प्रबन्ध निर्देशक नियुक्त गरेका थिए । पौडेलको नियुक्तिलाई लिएर कांग्रेसभित्रै व्यापक असन्तुष्टि उत्पन्न भएको थियो ।

एमालेका सञ्चार माफियाको प्रयासमा पौडेल टेलिकम प्रमुखमा नियुक्त हुन सफल भएको कर्मचारीहरू नै बताउँछन् ।

सन् २००४ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियरको रुपमा प्रवेश गरेका उनी सन् २०१२ मा केन्द्रको सहायक निर्देशक बनेका थिए । सन् २०१७ मा उपनिर्देशक हुँदै अगस्ट २०१८ देखि कार्यकारी निर्देशक थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको केन्द्रको प्रमुख कार्यकारीको रुपमा तीन महिना बाँकी छँदै पौडेलले टेलिकमको प्रमुखमा फड्को मारेका हुन् । तर पौडेल आएदेखि टेलिकमलाई दशा लाग्न थालेको छ ।

टेलिकमले वार्षिक रूपमा सरकारलाई विगतमा ११ देखि १२ अर्ब रुपैयाँसम्म कर तिर्ने गथ्र्यो । तर अहिले वार्षिक सात अर्बमा झरेको छ । टेलिकमले दिने सेवामा विश्वसनीयता कम हुँदै गएपछि मानिसहरू निजी क्षेत्रतिर आकर्षित हुने गरेका छन् । टेलिकमले एक वर्षमै साढे २० लाख मोबाइल प्रयोगकर्ता गुमाएको छ । अहिले टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुससम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्म एक करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको टेलिकमको पुससम्म आइपुग्दा एक करोड ९६ लाख २२ हजार ६ सय ५४ मा सीमित भएको हो ।

मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै तीन हजार तीन सय २९ जना ग्राहक गुमाएको छ ।

टेलिकमको टेलिफोन ग्राहक पनि दुई करोड १३ लाख २५ हजार तीन सय ५१ बाट दुई करोड नौ लाख ८० हजार २ सय ३८ मा सीमित भएको छ । टेलिकमको सबैभन्दा बढी ग्राहक जीएसएम मोबाइलको ग्राहक घटेको छ । मंसिरसम्म दुई करोड एक लाख ८६ हजार एक सय ६० रहेकोमा पुसमा आइपुग्दा एक करोड ९८ लाख ४२ हजार सात सय ३२ रहेको छ ।

टेलिकमको एक करोड ९६ लाख २२ हजार इन्टरनेट ग्राहकमध्ये एडीएसएल ग्राहक तीन लाख १९ हजार, फाइबर टु द होम ग्राहक नौ लाख १७ हजार, थ्रीजी ६० लाख ५१ हजार सात सय, फोरजी एक करोड २१ लाख ९७ हजार र ई–भिडियो ग्राहक एक लाख ३६ हजार पाँच सय रहेको छ । तर यी सबै सेवामा पटकपटक सेवा अवरुद्ध हुँदै आएको छ । पोस्टपेड र प्रिपेडमा त कहिले फोन नै लाग्दैन । कहिले आवाज नसुनिने त सामान्य भइसकेको छ । टेलिकमले दिने फोरजी सेवासमेत राम्ररी चल्दैन । त्यसैले अहिले टेलिकमका धेरै ग्राहक निजीतिर आकर्षित हुन थालेका छन् । तर, टेलिकम प्रबन्ध निर्देशक पौडेलकै इसारामा सेवामा कृत्रिम समस्या उत्पन्न गराउने गरिएको एक कर्मचारीले आशंका गरे । ‘सबै स्रोतसाधन सम्पन्न भएर पनि टेलिकमको सेवाहरू पटकपटक अवरुद्ध हुनुमा माथिकै कुनै कारण हुन सक्छ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *