समाचार

धराशयी बन्दै नेपाल टेलिकम, पौडेल प्रबन्ध निर्देशक भएको एक वर्षमै प्रयोगकर्ता २० लाख घटे

काठमाडौं । एक वर्षअघि नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका सुनिल पौडेलकै कार्यकालमा संस्था धराशयी बन्ने बाटोमा लागेको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रभावमा पारी प्रबन्ध निर्देशक बनेका पौडेलको कार्यकालमा टेलिकमको सेवा र गुणस्तर खस्किँदै गएको छ । हरेक साताजसो टेलिकमलाई सेवाको गुणस्तर प्रवाह सम्बन्धमा प्रस्टीकरण दिँदाको हैरान छ ।

केही समययता टेलिकमका पोस्टपेड, प्रिपेड मात्र होइन, एडिएसएल सेवामा गुणस्तर खस्केको छ । टेलिकमको फाइबर इन्टरनेट सेवा यति स्लो छ कि अलि ठूला फाइल र भिडियो डाउनलोड गर्दा कामै रोकिन्छ । कहिले नेटवर्क नै बन्द हुने, कहिले ग्राहकको पैसा मनपरी ढंगले काट्ने गरेकाले पनि पछिल्लो समय टेलिकमको प्रयोगकर्ता घट्दै गएका छन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले पछिल्लो एक वर्षमा २० लाख ५२ हजार ९९१ जना ग्राहक गुमाएको छ । हाल कम्पनीका दुई करोड नौ लाख ८० हजार २३८ जना प्रयोगकर्ता छन् । यस अवधिमा सबैभन्दा बढी एनसेलका मोबाइल प्रयोगकर्ता घटेका छन् । यस अवधिमा ३४ लाख ६८ हजार १५५ ग्राहक गुमाएको कम्पनीमा हाल एक करोड ३४ लाख नौ हजार ६१ जना प्रयोगकर्ता बाँकी छन् ।

यसरी एक वर्षमै साढे २० लाख प्रयोगकर्ता गुमाउनु भनेको सामान्य होइन । तर पनि टेलिकमले सिमकार्ड रिसाइकल गरिएका कारण केही ग्राहक संख्या घट्न पुगेको दाबी गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले एक वर्षमै लाखौं ग्राहक गुमाउँदा आम्दानी पनि धेरै गुमाएको छ । यही ढंगले टेलिकम प्रयोगकर्ता घट्दै जाँदा संस्थाको उन्नति र विकास गर्छु भनेर नियुक्त भएका पौडेलको कार्यकालमै टेलिकमको भविष्य अन्धकारमा पर्ने निश्चित छ । काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ पूरा गरेका पौडेलले सन् २००८ मा दक्षिण कोरियाबाट ग्लोबल आईटी टेक्नोलोजी प्रोग्राममा एमएससी पास गरेका थिए ।

सन् २००४ मा उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियरको रुपमा प्रवेश गरेका थिए । त्यसपछि सन् २०१२ मा केन्द्रको सहायक निर्देशक बनेका उनी २०१७ मा उपनिर्देशक हुँदै अगस्ट २०१८ देखि त्यहाँको कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको केन्द्रको प्रमुख कार्यकारीको रुपमा तीन महिना बाँकी छँदै टेलिकमको प्रमुखमा नियुक्त भएका हुन् ।

पौडेल एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा निकट हुन् । एमालेकै प्रभावमा परेर तत्कालीन सञ्चारमन्त्री कार्कीले पौडेललाई प्रबन्ध निर्देशक नियुक्त गरेका थिए । पौडेलको नियुक्तिलाई लिएर कांग्रेसभित्रै व्यापक असन्तुष्टि उत्पन्न भएको थियो । एमालेका सञ्चार माफियाको प्रयासमा पौडेल टेलिकम प्रमुखमा नियुक्त हुन सफल भएको कर्मचारीहरू नै बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *