लुम्बिनी प्रदेश

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षर, प्रदेश प्रमुखलाई भेट्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन भन्दै ५४ सांसदले हस्ताक्षर संकलन गरेका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपासहितका बहुमत सांसदहरू हस्ताक्षर बोकेर प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न जाँदैछन् ।

उनीहरूले आइतबार नै चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्ने भएका छन् ।एमालेका लीला गिरी नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिएसँगै कांग्रेसको नेतृत्वमा सरकार बन्ने पक्का भएको हो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत चाहिन्छ । चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षर तयार रहेको र आजै सरकारको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालय जाने तयारी भइरहेको कांग्रेस प्रदेश सभापति अमरबहादुर पुनले जानकारी दिए ।

पुस २७ गते सात दलका ५६ र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । तर माओवादी मन्त्रीहरू समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गिरी अल्पमतमा परेका हुन् ।अहिले माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी, माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालसहितका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

शनिबार कांग्रेससहितका आठ दलले सरकार फेर्ने तयारीका साथ प्रदेश प्रमुख शेरचनलाई सरकार फेरबदलका लागि हस्ताक्षर बुझाउने निर्णय गरेका थिए । मुख्यमन्त्री गिरी अल्पमतमा परेकाले बहुमत प्राप्त कांग्रेस दलका नेता चौधरीलाई प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना छ । यसअघि एमालेका शंकर पोखरेललाई बहुमत सांसद भएकै आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेको नजिर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *