काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष को बन्ला भन्ने चासो सर्वत्र बढेको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू भोट माग्न व्यस्त छन् । वरिष्ठ उपाध्यक्षमा महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, बहालवाला उपाध्यक्षहरू रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधानले पनि वरिष्ठ उपाध्यको चुनावलाई चासोका साथ हेर्ने गरिन्छ ।
अहिले महासंघको अध्यक्षमा शेखर गोल्छा छन् । अघिल्लो कार्यकालमै वरिष्ठ उपाध्यक्ष बनेका चन्द्र ढकाल १५ दिनपछि स्वतः महासंघको अध्यक्ष हुँदैछन् । तर उनी अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् । यसअघि गोल्छा चुनावमा प्यानलसहित उत्रिएका थिए ।
साधारणसभाबाट अध्यक्षबाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्वाचित हुने छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ एमालेको समर्थन छ । उनी पुष्पलाल–सहाना प्रधानका छोरा हुन् । उनले क्वेष्ट फर्मास्युटिकल्स सञ्चालन गर्दै आएका छन् । २०५६ सालमा खोलेको क्वेष्ट फर्मास्युटिकल्स अहिले नेपालको एउटा प्रमुख औषधि उद्योग हो । उमेशलालले आफ्नो टिमबाट उपाध्यक्षका लागि उम्मेद्वार पाउन सकेका छैनन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलाई नेपाली कांग्रेस निकट हुन् । वर्तमान उपाध्यक्ष श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । तर संघाई र उमेशलाल श्रेष्ठले अहिलेसम्म प्यानल सार्वजनिक गरिसकेका छैनन् । रामचन्द्र संघाई त्रिवेणी ग्रुपका निर्देशक हुन् । उनी पनि बलियो उम्मेदवार हुन् । संघाईको हाइड्रोपावर, स्पिनिङ मिल्सलगायतमा लगानी छ ।
अञ्जन श्रेष्ठको प्यानलमा एसोसिएट उपाध्यक्षमा जोत्स्ना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधानलाई आफ्नो टिममा समावेश गरेका छन् । त्यसैले पनि उनको टिम सशक्त बन्ने देखिएको छ ।
उम्मेदवारी दिनुपूर्व ६० जिल्ला घुमेर सबैको सुझाव सल्लाह संकलन गरेपछि उम्मेदवारी घोषणा गरिएको श्रेष्ठले बताए । उनी हुण्डाइ मोटर्सको नेपालका लागि आधिकारिक कम्पनी लक्ष्मी समूहका प्रबन्ध निर्देशक हुन्। व्यावसायिक क्षेत्रमा तीन दशकअघिदेखि सक्रिय श्रेष्ठ महासंघको राजनीतिमा डेढ दशकदेखि सक्रिय छन्।




