प्रविधि

साइबर सुरक्षा नीति निर्माण अन्तिम चरणमा, चाँडै मन्त्रिपरिषदमा पठाइने

काठमाडौं । सरकारले साइबर सुरक्षा नीति निर्माण अन्तिम चरणमा पुर्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षा नीति चाँडै मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको जानकारी दिएको छ ।

सञ्चार सचिव डा. बैकुण्ठ अर्यालले साइबर सुरक्षा नीति निर्माण अन्तिम चरणमा पुगेको र अब चाँडै मन्त्रिपरिषद्‌मा पठाउने तयारी रहेको जानकारी दिए। सोमबार दिगो विकास तथा सुशासन समितिको बैठकका उनले साइबर सुरक्षासम्बन्धी नीति रहे पनि त्यसको सफल कार्यान्वयन हुन नसकेको बताए।

नेपाल साइबर आक्रमणको प्रयास हुने देशहरुमा अग्रस्थानमा पर्ने उनले बताए । साइबर सेक्युरिटीसम्बन्धी विधेयकको एउटा पहिलो मस्यौदा दर्ता भइसकेको उनको भनाइ थियो । उनले सूचना प्रविधि विधेयक पनि मन्त्रालयमा आएको र संसद्‌मा उठेका प्रश्नहरुको सम्बोधन गरी अघि बढाउने तयारीमा रहेको जानकारी दिए।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी उपनिर्देशक सफल श्रेष्ठले सेवा सुविधामा प्राविधिक विज्ञहरुलाई टिकाउन नै गाह्रो भएको बताए।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सुरक्षा सामग्री खरिद गर्दा ग्लोबल टेन्डर नगरी विशेष प्रकारले खरिद गर्ने व्यवस्था हुनुपर्ने बताए। उनले सुरक्षा सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐनबाट नभई सुरक्षा नीतितर्फबाट व्यवस्थापन गर्न आवश्यक रहेको धारणा राखे ।

गृह सचिव विनोदप्रकाश सिंहले सामाजिक सञ्जालहरुको दुरुपयोग गरेर साइबर ब्यूरोमा धेरै उजुरी परेको जानकारी दिँदै अन्य जिल्लामा साइबर उजुरी भए पनि त्यसको अनुसन्धान काठमाडौंबाट नै गर्नुपर्ने बाध्यता रहेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *