काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सरकारको नेतृत्व आलोपालो हुने बताएका छन् । मंगलबार गोरखाको पालुङटारमा आयोजित कार्यक्रममा उनले भागबन्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने बताए ।
आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुनर्गठन हुने उनको भनाइ थियो । ‘हामी सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिने र त्यसबाट पनि जनताका विकास निर्माण र समृद्धिका आकांक्षा सम्बोधन गर्ने एकीकृत रूपमा अगाडि बढाउँछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले केन्द्र सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको जानकारी गराए। ‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ। मंगलबार बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिले अब सातै प्रदेशमा मुख्यमन्त्रीमा नेतृत्व आलोपालो हुने संकेत देखिएको छ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले सरकार नछाडे पनि राप्रपाले समर्थन फिर्ता लिएकाले उनले आफूलाई बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ ।
एमाले र माओवादीका सांसदले मात्र जमकट्टेलले विश्वासको मत पाउने अवस्था छैन । त्यसैले कांग्रेसले सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने अडान राखेको छ । यदि पहिलो कार्यकाल माओवादीले चलाएमा दोस्रो कार्यकाल कांग्रेसबाट मुख्यमन्त्री बहादुरसिंह लामा हुने देखिएको छ ।
गण्डकीमा पनि पहिले कांग्रेसले मुख्यमन्त्री पाउने भएको छ । त्यहाँ अहिले एमालेका खगराज अधिकारी मुख्यमन्त्री छन् । सबैभन्दा जटिल मानिएको सुदूरपश्चिममा कांग्रेसपछि माओवादीले मुख्यमन्त्री लिने गरी मन्त्रिपरिषद् विस्तारको गृहकार्य अघि बढाइएको छ ।
मधेस प्रदेशमा अहिले जसपाका सरोज यादव मुख्यमन्त्री छन् । त्यहाँ साढे दुई वर्षपछि जनमत पार्टीले मुख्यमन्त्री पाउने छ ।




