विचार

सभ्य र सतर्क भएर होली खेलौं

होली नेपालीहरुको एक महत्वपूर्ण चाड हो । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा भोलि र तराईमा पर्सि होली मनाइँदैछ । होलीलाई रंगको पर्व पनि भन्ने गरिन्छ । तर, केही वर्षयता होली खेल्ने नाममा अनेकौं बेतिथि भित्रिएका छन् । होली खेल्ने क्रममा सावधानी नअप्नाउँदा कतिपयको ज्यानसमेत गएको छ । छतमा बसेर होली खेल्दा धेरै जोखिम निम्तिएको छ । होलीको नाममा जे मनलाग्यो त्यही गर्न थालिएको छ । कसैको इच्छाविपरीत लोला हान्न पाँइदैन् ।

जबरजस्ती रंग लगाएमा कानुनबमोजिम कारबाही हुन्छ । होली खेल्न मन छैन् भन्दाभन्दै जबरजस्ती लोला हानेमा वा रंग लगाएमा जरिवाना वा कैद सजाय भोग्नुपर्ने हुन्छ । इच्छाविपरीत आफ्नै परिवारका सदस्य र आफन्तलाई समेत भिजाउन र रंग लगाउन पाँइदैन् । सरकारले बनाएको कानुन कतिपयलाई थाहा छैन् । थाहा भएकाले पनि बुझ पचाइरहेका छन् । ‘जब पर्यो राति तब बुढी ताँती’ भनेझैं मुद्दा नपरेसम्म उनीहरुको होश खुल्दैन् ।

होली खेल्ने भन्दै जबरजस्ती मादक पदार्थ सेवन गराउने । अवाञ्छित क्रियाकलापहरु गर्ने । चोरी र लुटपाटका घटनाहरु पनि होलीमा यत्तिकै घट्छ । एकअर्कामाथि भएको रिस फेर्ने राम्रो माध्यम होली बनेको छ । होली खेल्ने भन्दै रंगमा मोबिल, खुर्सानी, केमिकललगायत हानिकारक चीज मिसाउने अनि छ्यापिदिने । यसले कतिपयको आँखामा खराबी हुन्छ, कतिपयको छाला बिग्रिन्छ ।

अधिकांश मान्छेहरु छतमा बसेर होली खेल्छन् । तर, यसको जोखिम एकदमै धेरै छ । छतमा बसेर लोला हान्दा खुट्टा चिप्लिएर लडेका घटनाहरु धेरै छन् । एउटा घरबाट अर्को घरमा लोला हान्ने क्रममा कतिपय छतबाट खस्छन् र ज्यान गुमाउँछन् । चाडबाड मनाउने नाममा शोक फैलाउने काम नगरौं । होली खेल्ने भन्दै एकअर्कोको घरमा जबरजस्ती छिर्न रोक लगाउनुपर्छ । होली खेल्ने भए आफ्नै घरमा खेल्ने । आफ्नै घरको परिवारका सदस्यसंग खेल्ने ।

अर्काको घरमा जबरजस्ती छिरेर होली खेल्न दिनुहुँदैन् । होली मनाउने भन्दै बिहानैदेखि मादक पदार्थ सेवन गरिन्छ । तास खेलिन्छ । मादक पदार्थ सेवन गरेर साथीभाइ नै झगडा गर्न थाल्छन् । त्यही कुटाकुट गर्छन् । कतिपय घाइते त कतिपयको मृत्युसमेत हुन सक्छ । यता, मादक पदार्थ सेवन गरेर गाडी चलाइदिँदा दुर्घटना हुन्छ । होलीको नाममा पछिल्लो समय यस्ता दुर्घटनाहरु एकदमै बढिरहेका छन् । आफ्ना छोराछोरीलाई सम्झाईबुझाइ गर्नुको साटो अभिभावक नै बच्चा बनिदिन्छन् ।

अभिभावक बिहानैदेखि रक्सीमा धुत भएर बस्छन्, आफ्ना छोराछोरी कहाँ छन् केही अत्तोपत्तो छैन् । छोराछोरीले के गरिरहेका छन्, कहाँ गएका छन् यो हेर्दैनन् । होली चाड हो, त्यसैले मनाउनु स्वाभाविकै हो । तर, कसरी मनाउने भन्ने कुरा आफूमा भर पर्छ । सामान्य टिका लगाएर, एकअर्कालाई शुभकामना दिएर होली मनाउन सकिन्छ । रक्सी खाएर, होहल्ला गरेर, अरुलाई रोकतोक गरेर, जबरजस्ती रंग लगाएर, लोला हानेर होली मनाउनु हुँदैन् ।

होलीमा कसैलाई नमज्जा होस् भनेर पहिल्यै सोच्नुपर्छ । प्रत्येक वर्ष होलीका दिन दुर्घटनामा परेर मान्छेको ज्यान गइरहेको छ । यता, सरकार पनि मौन बसेको छ । दुर्घटना नघटेसम्म सरकार पनि हात बाँधेर बस्छ । सरकारका निकायहरुले सभ्य तरिकाले होली खेल्नु भनेर सुसुचित गराएको छैन् । गृह मन्त्रालयले ७७ जिल्लाको सिडियो कार्यालय र प्रहरी कार्यालयमार्फत होली कसरी खेल्ने ? भनेर जानकारी त गराउनुपर्यो नि । होली खेल्ने भन्दै अप्रिय घटना नघटोस् भनेर गृहले सूचना जारी गर्नुपर्ने हो ।

कोही हतारमा हिँडिरहेका हुन्छन् । कोही अस्पताल जान लागेका हुन्छन् । तर, आफू रमाइलो गर्नका लागि अरुलाई दुःख दिन मिल्छ ? घरको छतबाट फोहोर पानी फ्याकिदिँदा फेरि घर फर्किएर लुगा फेर्नुपर्छ । काममा जान ढिलो हुन्छ । अस्पताल गइरहेकालाई यो चाडले झनै सास्ती दिन्छ ।

अघिपछि बाटोमा हिँडिरहेका पानी प्यास लाग्यो भने कसैले एक घुट्को पानी खान दिँदैनन् । मागेर बसेकालाई मानवता सोचेर पनि पानी खान दिँदैनन् । तर, होलीका दिन अरुलाई छ्याप्नका लागि जारको जार पानी किनेर पनि खन्याउँछन् ।

नेपाली कतिसम्म स्वार्थी छन् ? यहाँबाट स्पष्ट हुन्छ । आफू भोको बसेर भएपनि अरुको पेट भर्ने मान्छे हो । आफ्नो पेट आधा भरेर अरुलाई खान दिनु मानवता हो । तर, नेपालीमा मानवता भन्ने नै छैन । मान्छे खान, लाउन र रमाइलो गर्न मात्र जन्मिएको हो र ? नेपालीहरु जतिसक्दो आफ्नै धोको भरौंजस्तो गर्छन् । आफू रमाइलो गर्नका लागि अरुलाई दुःख दिने अनि राज्यले बनाएका ऐनकानुनलाई धोती लगाउने । यही मौका छोपेर व्यापारीहरुले पनि लुट्नुसम्म लुट्छन् ।

सय रुपैयाँ पर्ने पिचकारी पाँच सय रुपैयाँ लिन्छन् । टिसर्ट र रंगमा पनि त्यस्तै ठग्छन् । होलीमा मादक पदार्थ, माछामासु र पानी एकदमै धेरै बिक्री हुन्छ । मौकाको फाइदा उठाएर व्यापारीले कमाउनु कमाउँछन् । व्यापारीहरुको सिद्धान्त रातारात धनी बन्नु मात्रै हो । अहिले पनि उपचार नपाएर कति छट्पटाइरहेका छन् । कति खान नपाएर भोकभोकै रन्थनिरहेका छन् । भर्ना गर्ने पैसा नभएर कतिपय बालबच्चाले बीचमै पढाइ छोडेका छन् । होलीमा फजुल खर्च गर्नुको साटो गरिबलाई सहयोग त धर्म हो ।

बेलुन किनेर के हुन्छ ? अरुलाई लोला छ्यापेर केही प्रगति हुन्छ ? वातावरण दूषित मात्र हुने हो । जनता चेतनशील भएपनि देश छिट्टै विकास हुन्छ । गरिबीमाथि मुलुक माथि उठ्छ । होली मनाउने नाममा कतिपयले लाखौं रुपैयाँ खर्च गर्छन् । तर, त्यो पैसा त सदुपयोग गर्न सकिएला नि ? राज्यको मुख ताकेर देशको विकास हुन्छ ?

राज्य त जनताको घरघरमा पुग्न सक्दैन् । समाजमा सक्नेले सहयोग गर्नुपर्छ । मनकारी भावना भयो भने मात्र मुलुकको मुहार फेरिन्छ ।

विडम्बना, धनी झनै धनी हुँदै गइरहेका छन् । गरिब झनै गरिब । राज्यको आँखा कहाँसम्म पुगोस् । बाटोमा मागेर बस्नेहरुको संख्या यत्तिकै छन् । उपचार नपाएर मर्ने दिन कुरेर बसिरहेका छन् । बाटोमा बुद्धिजीवीदेखि लिएर सबै हिँड्छन् । तर, कसैको ध्यान त्यता किन जाँदैन् ? जसरी हुन्छ आफू मात्र कमाऊ, आफू मात्र खाऊ, आफू मात्र लाऊ, आफ्नो छोराछोरी पढाऊ, रमाइलो गरौं भन्ने भावना नेपालीमा देखिएको छ । गरिबलाई त अलिक पैसावालले गन्नै छोडिसकेका छन् । पहिलेपहिले नचिनेकै मान्छे भएपनि खाना दिन्थें ।

बास बस्नलाई ठाँउको व्यवस्था गरिदिन्थें । तर, अहिले अवस्था फेरिएको छ । सानादेखि ठूलासम्मलाई व्यवहारिक कुरा थाहा छैन् । आफ्नो छोराछोरीको नचाँहिदो मागमा लाखौं रुपैयाँ खर्च गरिदिन्छन् । मानवताभन्दा ठुलो केही होइन् । होलीको नाममा फजुल खर्च नगरौं । बरु, खान नपाएकालाई एक छाक खान दिऔं । होलीको दिन कुनै अप्रिय घटना नघटोस् । आफू पनि बचौं र आफ्ना साथीभाइलाई पनि जोगाऔं । सरकारको ऐनकानुनभित्र रहेर मात्र चाडबाड मनाऔं । चाड वर्षैपिच्छे आँउछ तर दुर्घटना भएर ज्यान गयो भनेर त्यो मान्छे फर्किएर आउँदैन् । त्यसैले सतर्क रहौं ।


भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *