सहकारी भाग्यो, बैंक टाप पल्टियो अहिले जताततै सुनिएको कुरो हो । हुन पनि त हो कि पछिल्लो समय अधिकांश सहकारी बचतकर्ताको रकम नै फिर्ता नगरी भागेका छन् । यता नभागेका सहकारीले पनि वर्षे दिनदेखि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् ।
त्यस्तै, बैंकको कुरा गर्ने हो भने बैंकमा पनि सहकारी जस्तै संकट निम्तिन थालेको देखिन्छ । बैंकबाट घरजग्गा, गाडी र सेयर धितो राखेर कर्जा लिएका ऋणीहरुले राष्ट्र बैंक घेर्नेदेखि नो डिपोजिट सम्मको आन्दोलन चकाईसकेका छन् । उनीहरु बैंकबाट लिएको ऋणको साँवाब्याज नै तिर्देनौँ भनेर भनिरहेका छन् ।
सर्वसाधारणले ब्याजको लोभ सहकारीदेखि बैंकसम्ममा बचत गरे । यता सहकारी संस्थाहरुले पनि बढी ब्याज दिने आश्वासन वा धेरै रकम संकलन गरेमा कमिशन दिने लोभ देखाई धमाधम रकम जम्मा गर्न लगाए । यता त्यो रकम भने आखाँ चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।
तर, पछिल्लो समय यी क्षेत्रमा मन्दी छाएपछि यीनीहरु चुलुम्मै डुबे । देशभर दर्ता भएका ३५ हजार २ सय ३९ सहकारीमध्ये आधाभन्दा बढी सहकारी डुबिसकेका छन् त कति भागिसकेका छन् ।तर, यी सहकारीमा ९६ लाख बचतकर्ताको १० खर्बभन्दा बढी रकम छ । जुन अहिले बालुवामा पानी हालेको बराबरको भएको छ । सहकारीमा कसैले ५ हजारदेखि ५० लाखसम्म राखेका छन् त कसैले करोडदेखि १० करोडसम्म ।
१६ देखि २२ प्रतिशतसम्मको ब्याजमा मानिसहरुले आफुले जीवनभर दुःख गरेर कमाएको रकमदेखि घरजग्गा बेचेर आएको रकमसमेत सहकारीमा जम्मा गरे । तर, अहिले सहकारी भागेपछि वा डुबेपछि यीनीहरुको कन्तबिजोग भएको छ ।
पछिल्लो समय सहकारीमा लाइन लाग्नु भनेको कुनै नौलो कुरो होइन तर अहिले त बैंकमा पनि लाम लागेको छ । केही समययता बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको सुनिन्छ ।
किनकि अधिकांश बचतकर्ताले आफ्नो रकम बैंक तथा वित्तिय संस्थाबाट निकालेर घरमा लुकाइसके त व्यापारीहरुले विदेशी बैंकमा जम्मा गरिसके । यता बैंक तथा वित्तिय संस्थाबाट आफ्नो रकम निकाल्न पाएकाहरुलाई पनि छटपटी भइरहेको छ ।
कति खेर र कसरी आफ्नो रकम बैंक तथा सहकारीबाट निकाल्ने ? भनेर सोच्दासोच्दै उनीहरुको भोक र निन्द्रा मेटिसकेको छ । तर, अचम्मको कुरा हो नि है । हामी बचतकर्ताले विश्वास र ब्याजको लोभमा परेर सहकारीमा आफुले जीवनभर कमाएको रकम जम्मा गप्यौँ त सहकारी पनि नाफा कमाउने उद्देश्यले त्यो रकम घरजग्गा, गाडी र सेयरमा लगानी गप्यो ।
सहकारीका सञ्चालक र अध्यक्षहरुले दुई करोड मूल्य बराबरको घरजग्गालाई एक करोड ६० लाख रुपैयाँसम्म कर्जा प्रवाह गरेका छन् । त्यसमा पनि कर्जा दिएबापत घुस र सेवाशुल्क मात्र १५ लाख रुपैयाँ असुलेका छन् । यसरी ऋणीले एक करोड ६० लाख कर्जा लिएकोमा एक करोड ४५ लाख मात्र पाए । तर, त्यसमा पनि मानिसअनुसार १८ देखि ४८ प्रतिशत ब्याजदर लिइयो ।
तर, दुई वर्ष अघिदेखि घरजग्गाको कारोबारमा मन्दी छाएको छ । अहिले त्यँही घरजग्गा किनेको बाउभन्दा आधा मूल्यमा बेच्छुभन्दा बिक्दैँन । अनि कसरी ऋणीले कर्जा तिर्ने ? र सहकारीले कसरी कर्जा उठाउने ?
लिएको ऋणको साँवाब्याज नतिर्दा एक करोड ६० लाखको दुई करोड पुग्यो । तर, त्यो घरजग्गाको मूल्य झन् झन् घट्दै गयो ।
त्यस्तै, बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर सर्वसाधारणले ३ हजारदेखि ५ हजार सम्ममा किने त त्यही सेयर धितो राखेर बैंक तथा वित्तिय संस्थाले २ हजारदेखि २५ सयसम्ममा कर्जा दियो । तर, अहिले त्यँही सेयरको मूल्य हजार रुपैयाँमा झरेको छ ।
तर, लिएको कर्जाको साँवाब्याज नतिर्दा ३५ सय पुग्यो । यता १० रुपैयाँ किलोमा कबाडीमा बिक्री नहुने फलामलाई भारतले गाडी बनाएर नेपाललाई लाखौँ रुपैयाँमा बेच्यो । त्यँही गाडी धितो राखेर मानिसहरुले ऋण लिए त बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाह गप्यो । तर, अहिले त्यो गाडी नै बिक्री नहुने अवस्थामा पुग्यो ।
अहिले बैंक तथा वित्तिय संस्था र ऋणी नराम्ररी डुबेका छन् त बचतकर्ताको बिल्लीबाठ भएको छ पछिल्लो समय बैंक तथा वित्तिय संस्थाबाट ऋण खानेहरु ऋण तिर्न नसकेर कुनै झुण्डिएर मरिरहेका छन् त कुनै पेट्रोल छर्किएर आगो लगाएर ।
दिनहुँजसो बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्नेको संख्या बढिरहेको छ । तर, सरकार मौन छ ।
पहिलापहिला बैंक र सहकारी सञ्चालन गर्ने भन्नेबित्तिकै घरधनीहरु तम्सिएर घर भाडामा दिन्थे । तर अहिले उनीहरुलाई भाडामा बसिरहेका बैंक तथा सहकारीलाई पनि कसरी आफ्नो घरबाट निकाल्नु जस्तो भइरहेको छ । अहिले बैंक तथा वित्तिय संस्थाको लुटाहा धन्दा सबैलाई थाहा पाइसकेका छन् ।
वित्तिय संस्थाले बचतकर्तालाई थोरै ब्याज दिई त्यँही रकम ऋणीलाई मिटरब्याजमा लगाई उनीहरुको उठीबाँस लगाउँछन् । जुन कुरा अहिले अधिकांशले थाहा पाएकाले छन् जसले गर्दा पनि सर्वसाधारणको वित्तिय संस्थाबाट विश्वास उठ्दै गएको हो ।
बैंक तथा वित्तिय संस्थाका अधिकांश ऋणीले अहिले ऋण नतिर्ने घोषणा गरिसकेका छन् त बचतकर्ताले बचत गर्न छोडिसकेका छन् । यता बैंक तथा वित्तिय संस्थाले धितो राखेको घरजग्गा, गाडी र सेयरको पनि मूल्य दिनहुँ घटिरहेको छ ।
त्यस्तै, हिजो घरजग्गा, गाडी र सेयरको कारोबार गर्ने दलालीहरु पनि बैंकको ऋण तिर्न नसकेर भागिसकेका छन् । सरकारको सबैभन्दा धेरै राजस्व उठ्ने कार्यालय हो, मालपोत र यातायात कार्यालय । यता सेयरमा पनि हो ।
तर, पछिल्लो समय मालपोत र यातायात कार्यालय सुनसान देखिन्छ । दिनहुँ हजारौँ घरजग्गा र गाडी नामसरी हुने यी कार्यालयमा अहिले महिनामा एउटा हुन समेत धौँधौँ पर्छ । यसले गर्दा एकातिर राज्यलाई घाटा भएको छ त अर्कोतिर यी क्षेत्रमा लगानी गर्नेहरु पनि चुलुम्मै डुबेका छन् ।
दुई दशकअघि रोपनीको २० हजार नपर्ने जग्गालाई दलालीहरुले खण्डीकरण गरेर आनाकै ७० लाखमा बेचे । तर अहिले त्यो जग्गा फेरि पहिलाकै मूल्यमा आएको छ । बुढोपाकाले भन्थे, ‘उदो गएको खोलो पनि १२ वर्ष पुगेपछि उभो फर्किन्छ ।’
अहिले ठ्याक्कै त्यही भएको छ । बाढी पहिरो आए बराबर बढेको घरजग्गा, गाडी र सेयरको मूल्य अहिले मरुभूमि लागे बराबरको भएको छ । ८० प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । तर, लिएको ऋण तिर्न नसकेर अहिले उनीहरु घर न घाटको हुनेभएका छन् ।
आपत परेर आफुले महंगोमा किनेको घडेरी किनेको आधा मूल्यमा बेच्छुभन्दा पनि कोही किन्दैन । अब बैंक तथा वित्तिय संस्थाले यी क्षेत्रमा गरेको लगानी कसरी उठाउने ? र बचतकर्ताले ब्याज खान आफुले जीवनभर दुःख गरेर कमाएको रकम कसरी फिर्ता लिने ? भनेर अहिले जोहीकोही अन्योलमा छन् ।
बैंक तथा वित्तिय संस्थाबाट ऋण लिने र बचत गर्ने दुवै अहिले सुकुम्बासी हुने अवस्थामा पुगेका छन् । अब सरकारले छिटोभन्दा छिटो पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकालेमा देश दुर्घटनामा पर्नबाट जोगिन सक्छ । त्यसैले, अब सरकारले बेलैमा बुद्धि पुप्याउन आवश्यक छ ।
सरकार अब न सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थाप्रति पहिला जतिकै नै विश्वास दिलाउन सक्छ न उनीहरुले लुकाएर राखेको रकम नै बाहिर ल्याउन सक्छ । पछिल्लो समय सहकारी विभाग, गाउँपालिका, वडा कार्यालय, नगरपालिका र प्रहरी चौकीमा दिनहुँ हजारौँ बचतकर्ता आफ्नो रकम सहकारीले खाइदिएको वा फिर्ता नगरेको दुःखसो पोख्न आइपुग्छन् ।
आफ्नो घरमा खानका लागि चामल छैन र छोराछोरीको विद्यालयमा फिस तिर्न पैसा छैन भन्दा समेत सहकारीका सञ्चालकहरु बचतकर्ता आफैँले जम्मा गरेको रकम फिर्ता गर्दैनन् । सहकारीले पैसा फिर्ता नगर्दा अहिले कतिको हुन लागेको बिहे पनि रोकेको छ त हुने उपचार भएको छैन ।
तर, यो समस्या अहिले सहकारीमा मात्र नदेखि बैंकमा पनि देखिन थालेको छ । सहकारीका बचतकर्ताहरु त यो अवस्थादेखि अन्जान थिए । जसले गर्दा उनीहरु कताको पनि रहेनन् तर अब बैंकका बचतकर्ताहरुले सहकारीका बचतकर्ताबाट पाठ सिक्नुपर्छ ।
अधिकांश बचतकर्ताहरु पछिल्लो समय बैंकमा आफ्नो रकम सुरक्षित छ वा छैन ? भनेर अनुगमन समेत गर्न बैंक धाइरहेका छन् त कति भटाभट आफ्नो रकम निकालेका छन् । तर, यता एक लाख रुपैयाँको चेक लिएर जाँदा बैंक यत्रो पैसा एकैपटक ननिकाल्नुस् भन्दै चियापन गराउँछ ।
अब बैंकले दिनमा पाँच हजारभन्दा बढी रकम दिदैँन भनेर अहिले बजारमा अधिकांश भन्छन् । झनै माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुषकमल दाहाल प्रचण्डको सरकार भएपछि अब बैंकबाट बचतकर्ताले रकम निकाल्न पाउँदैनन् भनेर त्रास बढेको छ ।




