सम-सामयिक

को बन्लान् नयाँ आइजीपी ?

काठमाडौं । सरकारी सेवामा नयाँ आउने र कार्यकाल पुरा गरेकाहरु अवकाशमा जानु नियमित प्रक्रिया हो । तर नेपाल प्रहरीका लागि नेतृत्व परिर्वतन सधैंको राजनीतिक दाउपेच बन्ने गरेको छ ।

हरेक पटक प्रहरी महानिरीक्षक अर्थात् आइजीपी नियुक्तिलाई नियमित कामभन्दा राजनीतिक नेतृत्वले आफू अनुकूल बनाउन खोज्दा संगठन नै असन्तुलित जस्तो देखिने गरेको छ । संगठनको वृत्ति विकासलाई नियमावलीको भरमा चलाउन खोज्दा नेतृत्व चयन सधैं विवादमा पर्ने गरेको हो ।

अहिले नेपाल प्रहरी नेतृत्व परिवर्तनको मुखमा छ । गत वैशाखमा प्रहरी महानिरीक्षक बनेका धिरजप्रताप सिंह र तीन एआइजीसहितका अधिकृतले आगामी चैत १० गते ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् ।

अहिले संगठनको माथिल्लो तहमा रहेकाहरु ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने कसरतमा छन् । त्यसका लागि सरकारले नयाँ ऐन ल्याउनुपर्ने छ । अहिले भने नियमावलीमा भएको ३० वर्षे सेवा अवधिलाई निलम्बन गरेर जान सकिने गरी छलफल भइरहेको गृह स्रोतको दाबी छ ।

तीस वर्षे सेवा अवधि कायम रहे आगामी चैत ११ गते ८० हजार प्रहरीको नेतृत्व गर्ने गरी नयाँ आइजीपी आउने छन् । महानिरीक्षकमा लागि २०५१ सालमा निरीक्षकमा भर्ना भएका १३ जना र त्यसपछिको ब्याचका ४ डीआइजी प्रतिस्पर्धामा छन् ।

एक नम्बरमा रहेका डीआइजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, सन्दिप भण्डारी, श्याम ज्ञवाली, किरण बज्राचार्य, मिरा चौधरीलगायत आइजीपीको दौडमा छन् । उनीहरु भन्दा ६ महिनापछि भर्ना भएका दिपक थापा र भीम ढकालले पनि प्रयास गरिरहेका छन् ।

तर २०५१ सालको ब्याचबाट आइजीपी भए २ वर्ष र पछिल्लो ब्याचबाट भए थप ६ महिना संगठनको नेतृत्व गर्ने पाउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *