राजनीति

पूर्णबहादुर, गगन र विश्वप्रकाश सरकारमा नगए कसले गर्ला कांग्रेसबाट नेतृत्व ?

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपालगायतका दलहरू अहिले राष्ट्रपति निर्वाचनमा व्यस्त छन् । आठदलीय गठबन्धन अभिमुखीकरण कार्यक्रममा लागेको छ । त्यसैले सबैका ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

अहिले नै सरकार विस्तार गर्न नेपाली कांग्रेसले नमानेकाले राष्ट्रपति निर्वाचनसम्म कुर्ने मनस्थितिमा प्रचण्ड पुगेका छन् । एमाले सरकारबाट बाहिरिएपछि अहिले प्रधानमन्त्रीले १८ वटा मन्त्रालयको कार्यभार आफैंले सम्हालेका छन् ।

आठदलीय गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालय भागबन्डाको छलफलसमेत नभएकाले मन्त्रिपरिषद् विस्तार एक साता पछि हुने भएको छ । तर त्यसअघि नै कांग्रेसबाट सरकारमा पार्टीको नेतृत्व कसले लाग्ने भन्ने चासो सर्वत्र देखिएको छ । पुराना नेताहरु सबै आफैंले पार्टीको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । तर सभापति शेरबहादुर देउवाले अझै कसलाई पठाउने भनेर निर्णयमा पुगेका छैनन् । देउवा पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको नेतृत्व दिएर सरकारमा पठाउन चाहन्थे ।
तर खड्काले सात वर्षअघि नै आफू मन्त्री नबन्ने घोषणा गरिसकेका छन् । उनी पाए प्रधानमन्त्री बन्ने, तर मन्त्री नखाने मनस्थितिमा छन् । आफूले पहिल्यै मन्त्री नबन्ने घोषणा गरेकाले अहिले मन्त्री बन्दा नैतिक संकटमा पर्ने भएकाले उनले मुखै खोलेर सरकारमा जान नचाहेको प्रस्टीकरण दिएका छन् ।

पार्टीका अर्का उपसभापति धनराज गुरुङसँग राजकीय सत्ताको अनुभव छैन । विद्यार्थी, तरुण दल हुँदै पार्टीको उपसभापति बनेका गुरुङले अहिलेसम्म मन्त्री बन्ने इच्छा पनि नदेखाएकाले उनी सरकारमा जाने सम्भावना निकै कम छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मन्त्री बन्न आग्रह गर्दै आएका छन् । तर अहिले गगन र प्रचण्डबीच सम्बन्ध पनि सुधार हुँदै गएको छ । तर सरकारमा जाने कि नजाने भन्ने नैतिक संकटमा गगन पनि परेका छन् ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचनका क्रममा उनले यो कार्यकालभरि आफू मन्त्री नबन्ने घोषणा गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि तत्काल सरकारमा जान अनिच्छुक देखिएका छन् । उनले आफू अहिले पार्टीकै जिम्मेवारीमा रहेर काम गर्ने बताएका छन् । त्यसैले खड्का, थापा र शर्मा तीनैजना सरकारमा नजाने भएपछि सभापति देउवा कसलाई पार्टीको नेतृत्व गरेर सरकारमा पठाउने भन्नेमा द्विविधामा परेका छन् ।

पार्टीको नेतृत्व गर्दै सरकारमा जान नेता अर्जुननसिंह केसी ,प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, मोहनबहादुर बस्नेतलगायत इच्छुक देखिएका छन् । खासगरी अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयमा कांग्रेसमा रस्साकस्सी सुरु भएको छ । यसपटक कांग्रेसले गृहभन्दा अर्थ मन्त्रालयमा बढी चासो देखाएको छ । कांग्रेसले सांसद संख्याका आधारमा बढीमा १० मन्त्रालय पाउने अवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *