राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । यसका लागि निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार फागुन १३ गते उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु भने आन्तरिक तथा बाह्य छलफलमा जुटेका छन् । सत्ता साझेदारको दलको नेतृत्व गरेको नेकपा एमालेले पुष १० को सहमती अनुसार आफुले राष्ट्रपति पाउनु पर्ने अडान राखेको छ भने सत्तारुढ दल नेकपा माओबादीले राष्ट्रपतिमा राष्ट्रिय सहमती हुनुपर्ने अडान कायमै राखेको छ ।
उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएको छ । यसका लागि कांग्रेसले उपसभापति पूर्णबहादुर खड्का महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखकलाई आन्तरिक तयारीकालागि सभापति शेरबहादुर देउवाले खटाएका छन् ।
संवैधानिक अंगका रुपले चिनिने देशकै उपल्लो ओहदाको पद भएकाले सबै दलको चासो बढ्दो छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पटकपटकको संसद विघटन, सरकारले पेश गरेका नागरिकता लगाएतका महत्वपूर्ण विधेयकलाई रोक्ने गरेकाले सबैको चासो बढेको हो ।
राष्ट्रपतिकै विषयलाई लिएर पछिललो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्षबीच सरकार गठन भए यता २६ पटक भेट भएको छ । अझ सरकारले विश्वासको मत लिएयता राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच १३ पटक एकलाएकलै भेट भएको छ तर साझा उम्मेदवारको गाँठो भने अझै फुकिसकेको छैन । एकले अर्कोलाई विश्वास गर्न सकिरहेका छैनन् जसका कारण विभिन्न राजनीतिक नियुक्ति, प्रदेश प्रमुख फेरबदल र अन्य विषयहरुमा छलफल हुन सकेको छैन ।
राष्ट्रपतिका विषयमा विभिन्न राजनितिक दलका नेताहरुले आ–आफ्नो दलको विचार सार्वजनिक गरिरहेका छन् । यस क्रममा नेकपा एकिकृत समाजवादका अध्यक्ष माधब कुमार नेपालले अबको नयाँ राजनैतिक कोर्ष एक हप्तापछि थाहा हुने बताएका छन् । काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायि कमिटीको दोस्रो बैठकमा बोल्दै नेपालले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिको विषयलाई लिएर सात दलिय गठबन्धन लामो समय नटिक्ने हो कि भन्ने चिन्ता लागेको बताएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति साझा व्यक्तिलाई नै दिनुपर्छ जस्का कारण पार्टीभित्र अन्तरद्वन्दको अवस्था सिर्जना हुन नपाउने जिकिर समेत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भएको हुँदा राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएको उनले प्रस्ट्रयाए ।
- उत नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले भने राष्ट्रिय सहमतिका आधारमा नभइ एमालेले नै राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएकाछन् । आजमात्र विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा ओलीले पुनः यो कुरा दोहोर्याएका छन् ।
ओलीले एमालेले खडा गरेको राष्ट्रपतिका उम्मेद्वार ईश्वर पोखरेल हुनु पर्ने अडान लिएका छन् । यसमा प्रधानमन्त्री प्रचण्ड सहमत हुन सकेका छैनन् । त्यसै गरि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति पदमा दावी गरेका छन् । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने बताए । उनले भने, ‘निर्वाचनका समयमा रहेको गठबन्धन बमोजिमकै दलबीच राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुन्छ । संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पदमा कांग्रेस नै अग्रसर हुनु स्वभाविकहो ।’
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् । उनले अहिलेको परिवेशमा नेपाली काँग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने समेत बताए । डा. महतले संविधान रक्षाका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएकाले कांग्रेसले राष्ट्रपति पाउनुपर्नेमा जोड दिए ।
प्रवक्ता समेत रहेका महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिनका लागि पनि कांग्रेसको राष्ट्रपति हुनुपर्ने कुरा जिकिर गरेको छन् ।
कांग्रेसले राष्ट्रपतिमा वरिष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मध्य एकलाई उम्मेद्वार बनाउने प्रबल सम्भावना रहेको छ । यसका लागि नेता पौडेलले आफ्नो दौडधुपलाई तिब्रता दिएका छन् ।
राष्ट्रपतिको निर्वाचन सँगसँगै वर्तमान गठबन्धनले पनि निरन्तरता नपाउने संकेत देखिएको छ ।




