काठमाडौं । केही समययता नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको बोली समान देखिएको छ । कांग्रेस नेताहरू वर्तमान सत्ता समीकरण केही दिनमै परिवतर्न हुने बताइरहेका छन् । माओवादी नेताहरू भने राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै त्यसमै अडिएका छन् ।
आइतबार प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यापक राष्ट्रिय सहमतिको पक्षमा आफूहरू रहेको बताए । उनले राष्ट्रपति राष्ट्रिय सहमतिबाटै चुनिनुपर्नेमा आफूहरू अडानमा रहेको उल्लेख गरे ।
आइतबार नै माओवादी महासचिव देव गुरुङले राष्ट्रिय सहमतिको पक्षबाट आफूहरू टसको मस नभएको स्पष्ट पारे । गुरुङले सबैले स्वीकार्ने र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्ने बताए । प्रेस सेन्टर, कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक पृष्ठभूमिभित्रकै सबैले स्वीकार्ने व्यक्ति राष्ट्रपति हुनुपर्ने बताए । पुस २६ गते कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको वातावरण बनेकाले राष्ट्रपतिमा सहमति हुनुपर्ने उनले जिकिर गरे ।
‘पुस २६ गते आइपुग्दा विश्वासको मतबाट सबै दलहरूबीच राष्ट्रिय सहमतिको अवस्था देखा परेको प्रकट भयो,’ उनले भने, ‘जुन पदमा सत्ता र विपक्षको कल्पना छ त्यहाँ सहमति हुन सक्छ । जहाँ त्यहाँ सहमति हुन नसक्ने कारण किन ? के कारणले सहमति हुन सक्दैन ? प्रश्न त्यो हो ।’ माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महराले पनि राष्ट्रिय सहमतिमै जोड दिँदै आएका छन् ।
यता, नेपाली कांग्रेसका नेताहरू पनि केही दिनदेखि चाँडै राजनीतिक कोर्ष करेक्सन हुने बताउँदै आएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक साताभित्र राजनीतिक कोर्ष करेक्सन हुने बताएका छन् । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले त आफ्नो पार्टीले राष्ट्रपति पाए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री हुने भनेर कांग्रेसको धारणा सार्वजनिक गरिसकेका छन् ।
आइतबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्ता समीकरण धेरै समय नटिक्ने बताए । सरकारका रहेका दलहरुबीच असन्तुष्टि बढेकाले यो गठबन्धनको आयु धेरै लामो नरहेको उनको भनाइ छ । सुर्खेतमा आयोजित पार्टी कार्यक्रममा उनले आगामी राष्ट्रपतिको निर्वाचनमा पनि नेपाली कांग्रेसको उम्मेदवार विजयी हुने ठोकुवा गरे ।




