काठमाडौँ । करिब १०० घण्टाअघि टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको थियो । यसमा हालसम्म २४ हजारभन्दा बढीको शव फेला परेको छ भने हजारौं बेपत्ता छन् । बेपत्ता भएकाहरू भवनको भग्नावशेषमा दबिएका छन् । उद्धारका लागि टोलीहरू दिनरात खटिरहेका छन्, तर समय बित्दै जाँदा, भग्नावशेषमुनि बाँचेकाहरू फेला पार्ने सम्भावना घट्दै गएको छ ।
भुकम्पपछि भग्नावशेषमा फसेका मानिसहरु कति दिन बाँच्न सक्छन् भन्ने विषयमा यस रिपोर्टमा जानकारी दिदैछौं ।
युनिभर्सिटी कलेज लन्डनका प्रकोप र स्वास्थ्यका प्रोफेसर इलान केल्म्यानका अनुसार भूकम्पपछि भवनहरू प्रायः भत्किन्छन्, जसमा मानिसहरू फसेका हुन्छन् । यस क्रममा उनीहरूलाई चोट लाग्छ र यो नै मृत्युको मुख्य कारण हुने गर्दछ । मान्छे मर्न नपरोस् तर समयमै उपचार नपाउँदा र अत्याधिक रक्तस्रावका कारण ज्यान जान्छन् ।
मानिसको जीवन र मृत्यु बीचको भिन्नता निर्धारण गर्ने दोस्रो कुरा हावा र पानीको उपलब्धता हो । हावा उपलब्ध नभएको ठाउँमा गहिरो भग्नावशेषमा पुरिएमा निसास्सिएर मानिसको मृत्यु हुन्छ ।
यसका साथै मौसम पनि मानिसको बाँच्नका लागि धेरै हदसम्म जिम्मेवार हुनसक्छ । सिरिया र टर्कीमा राहत र उद्धार कार्यमा मौसम प्रमुख अवरोध बनेको छ । त्यहाँ अहिले निकै चिसो बढेको छ । भूकम्प गएको रात धेरै ठाउँमा हिउँ परेको थियो भने तापक्रम माइनस ६ डिग्री सेल्सियस थियो । योसँगै धेरै ठाउँमा पानी परेको छ ।
केल्मेन भन्छन्, यो धेरै दुखद छ, हिमपातको कारण, हाइपोथर्मिया मानिसहरु सायद यसैको कारण उनीहरु मर्दैछन् ।
पानी नपाउँदा मानिसको ज्यान पनि जान सक्छ । चिसो र सामान्य चोटपटक लागेपछि बाँच्नेहरूलाई खाना र पानी चाहिन्छ । धेरै मानिसहरू पानी बिना तीन-चार दिन बाँच्न सक्छन्, तर पाँचौं दिनमा मर्न सक्छन् ।
भग्नावशेष मुनि मानिसहरु कहिलेसम्म बाँच्न सक्छन् ?
अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलका आपतकालीन र विपद् औषधि विशेषज्ञ डा. जारोन ली भन्छन्, सामान्यतया पाँचौंदेखि सातौं दिनपछि भग्नावशेषमुनि जीवित भेट्न दुर्लभ हुन्छ । त्यसकारण धेरैजसो उद्धार टोलीले त्यसबेलासम्म भग्नावशेषमा पुरिएका मानिसको खोजी गर्न रोक्छन् । तर, यस्ता धेरै कथा छन् जसमा सात दिनपछि पनि मानिस जिउँदै भेटिएका छन् । यदि हेर्ने हो भने, यी धेरै दुर्लभ र विरलै सुनिएका कथाहरू हुन् ।
नर्थवेस्टर्न युनिभर्सिटी फाइनबर्ग मेडिकल स्कूलका आपतकालीन चिकित्सा विशेषज्ञ डा. जर्ज शियानपासका अनुसार बाँच्नको लागि सबैभन्दा ठूलो बाधा चट्टान वा कंक्रीटमुनि फस्दा लाग्ने चोट र अंगविच्छेदन हो । पहिलो घण्टा सुनौलो घण्टा हो । यदि तपाईंले तिनीहरूलाई पहिलो घण्टा भित्र बाहिर निकाल्नुभएन भने, तिनीहरूको बाँच्ने सम्भावना कम हुदै जान्छ ।
भग्नावशेषमा को बाँच्ने सम्भावना बढी छ ?
क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका आपतकालीन चिकित्सा विशेषज्ञ डा क्रिस्टोफर कोलवेलका अनुसार धेरै पटक भूकम्पपछि चमत्कार झैं मानिस बचेको र अत्यन्तै डरलाग्दो अवस्थामा पनि मानिस बाँचेको खबर आएको छ ।
त्यस्ता व्यक्तिहरू प्रायः जवान हुन्छन् र पानी वा हावा जस्ता चीजहरू प्राप्त गर्ने ठाउँमा फसेकोमा धेरै भाग्यशाली हुन्छन् ।
२०११ मा, जापानमा भूकम्प र सुनामी पछि, एक युवक र उनकी ८० वर्षीया हजुरआमा आफ्नो घरको भग्नावशेषबाट नौ दिन पछि जीवित फेला परेका थिए । सन् २०१० मा हाइटीमा भूकम्प गएको थियो । त्यतिबेला पोर्ट–ओ–प्रिन्समा १६ वर्षीया किशोरी १५ दिनपछि जिउँदै फेला परेकी थिइन् ।
डा. शियानपास भन्छन्, पीडितको मानसिक अवस्थाले पनि धेरै निर्णय गर्छ । लाशमा अड्किएका र कसैसँग सम्पर्क नभएका मानिसहरूले आशा छोड्ने सम्भावना बढी रहेको उनी बताउँछन् । उनी भन्छन् यदि कोही जिउँदो छ भने तिमी दुबै एक अर्काको सहारा बन्छौ र लडिरहन्छौ ।
भूकम्पपछि भग्नावशेषमा फसेका मानिसलाई कसरी उद्धार गरिन्छ ?
कुनै ठाउँमा भूकम्पपछि उद्धारका धेरै उपाय छन्, जसबाट भग्नावशेषमा फसेका मानिसलाई पत्ता लगाउन सकिन्छ । यसमा एउटा तरिका भनेको उद्धार टोलीसँग रहेको कुकुरमार्फत भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्नु हो ।
प्रशिक्षित कुकुरहरू सबैभन्दा पहिले भग्नावशेष सुँघ्ने र त्यहाँ फसेका मानिसहरूको बारेमा पत्ता लगाउने गर्छन् । केल्म्यानका अनुसार मेक्सिकोसँग यस्तो कुकुरहरूको टोली छ जसले विपत्ति पछि उद्धारमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो कुकुर टोली पनि अहिले टर्की पुगेको छ ।
यसका साथै भूकम्प प्रभावित साँघुरो गल्ली र साँघुरो ठाउँमा फसेका मानिसको खोजी गर्न रोबोट र ड्रोनको पनि प्रयोग भइरहेको छ । भग्नावशेषमा फसेको व्यक्तिको बारेमा थाहा पाउने बित्तिकै उद्धारकर्ताहरूले उनलाई सकुशल बाहिर निकाल्ने प्रक्रिया सुरु गर्छन् ।
सबैभन्दा पहिले, भवनको भग्नावशेष क्रेन र ड्रिलरको सहयोगमा हटाइन्छ । यसपछि व्यक्तिलाई बाहिर निकालिन्छ । कहिलेकाहीँ भग्नावशेषमा पुरिएका व्यक्तिको हातखुट्टा पनि काट्नु पर्ने हुन्छ, ताकि उसको ज्यान बचाउन सकियोस् ।
भूकम्प आउनुअघि नै उद्धार कार्य थाल्नुपर्छ !
यो हेडिङ पढेपछि तपाई पनि भूकम्प आउनुअघि नै कसरी उद्धार कार्य सुरु गर्न सकिन्छ भन्ने सोचिरहनुभएको होला । केल्म्यानका अनुसार भूकम्पबाट बच्न उद्धार कार्य दशकौंअघि सुरु हुन्छ । यसका लागि भवन वा भवन भत्कनबाट जोगाउन भूकम्प प्रतिरोधी बनाउने प्रयास भइरहेको छ ।
टर्की र सिरियामा गएको भूकम्पपछि मानिसको ज्यान जोगाउन करोडौं रकम खर्च भइरहेको छ । भूकम्पपछि उद्धारका लागि जुन गतिमा यी देशमा पैसा खर्च भइरहेको केल्म्यानको विश्वास छ, त्यति नै रकम विपद् जोगाउन खर्च भएको भए आज यो अवस्था आउने थिएन ।
(एजेन्सीहरुको सहयोगमा)




