रिबन

सुदूरपश्चिमका मुख्यमन्त्रीको पद धरापमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद धरापमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेसँगै उनको पद धरापमा परेको हो ।

आज सुदूरपश्चिम सरकारलाई लिएर नागरिक उन्मुक्ति पार्टीको निर्णायक बैठक काठमाडौंको नक्सालस्थित एक होटलमा बसेको थियो । उक्त बैठकले प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । उन्मुक्ति पार्टीले आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि विश्वासको मत नदिने प्रष्ट पारेको छ ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बैठकअघि डिल्लीबजार कारागारमा पार्टीा संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका थिए । उक्त वार्तापछि उनी बैठकका लागि नक्साल पुगेका थिए ।

गत माघ २७ गते नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ । उनलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गर्दा रावल नेतृत्वको सरकार एक महिना नपुग्दै ढल्नेछ ।

सुदूरपश्चिम प्रदेशसभामा सबभन्दा ठूलो दल नेपाली कांग्रेसको १९ सिट छ भने माओवादीको ११ एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

रेशम चौधरीसहित टीकापुर घटनाका कैन्दीबन्दीको रिहाईलाई एजेण्डा बनाएर चुनाव जितेको नागरिक उन्मुक्तिले सत्तारुढ गठबन्धन रोजेको छ, तर सहजै समर्थन गर्ने गरेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *