१. नेपाली राजनीतिमा जथाभावी हुन थालेको र सिद्धान्तहीन गठबन्धन हुन थालेको २०५२सालबाटै हो । नेपाली कांग्रेसले क्षणिक सत्तारोहणका लागि अरु दलहरुलाई प्रयोग गर्ने अनि नेपाली कांग्रेसको भ¥याङ् चढेर नेपाली कांग्रेसलाई कमजोर बनाउने खेल चलेकै छ । नेतृत्वमा बस्नेहरुले सिद्धान्त र नीतिभन्दा आफ्ना निजी चाहना र आफ्ना आसेपासेका निम्ति खेल खेल्ने कामले प्रजातन्त्र थिलथिलो भएकै हो । यसमा यसपटकको निर्वाचनमा कसले कसलाई धोखा दिएको हो भन्ने कुराको मिहिन तरिकाले विश्लेषण गर्नुपर्छ तर सिद्धान्तविहीन गठबन्धनमा भर परेर आफैँले आफैँलाई धोखा दिनेमा नेपाली कांग्रेसकै नाम पहिलो नंबरमा पर्ने हुन्छ । त्यही नेपाली कांग्रेस हो जसका नेताहरुलाई त्यत्रो लोभ देखाउँदा पनि सिद्धान्त नछोडेर बरु जेलमा बस्न, प्रवासमा बस्न रुचाउँथे तर सिद्धान्तप्रतिको मोह छोडेका थिएनन् ।आजका कांग्रेसीहरुको छटपटी एकछिन सत्तामा बस्न नपाउँदको अनुमान गर्न सकिन्छ , बरु साथीहरु लाखापाखा परुन् तर जोसँग मिलेर भए पनि सत्तामा पुग्नु नै अभीष्टता भएको देख्न पाइन्छ ।
२.प्रजातन्त्रका विरोधीहरुले नै प्रजातन्त्रको जिम्मा प्रजातन्त्रवादीको नक्कली प्वाँख भिरेर लिए भने के हुन्छ ? ढाडे बिरालोले नै दूधको संरक्षणका जिम्मा लिए के हुन्छ ? त्यही हुन्छ । प्रजातन्त्रको अन्तध्र्वंश गर्नका लागि प्रजातन्त्रकै प्रयोग गरियो र प्रजातन्त्रको सम्पूर्ण प्रक्रियाको जिम्मा दियो भने के हुन्छ ? त्यसको प्रायोगिक र व्यावहारिक उदाहरणको रुपमा नेपाली प्रजातन्त्रलाई लिन सकिन्छ । यी ७२वर्ष नेपाली प्रजातन्त्रको सदुपयोग, दुरुपयोग र प्रयोगशालाको रुपमा नै रहेको कुराको प्रमाण धेरै खोज्नु पर्दैन । २०१५सालको निर्वाचनबाट बनेको सरकारले जम्मा १८ महिना काम गरेको, २०४८सालमा भएको निर्वाचनबाट बनेको सरकारले काम गर्दागर्दै २०५१सालको असारमा मध्यावधि निर्वाचन घोषणा नहुन्जेलसम्मको अवधिलाई प्रजातान्त्रिक व्यवस्थाको मूल समय मान्नुपर्ने हुन्छ । त्यसअघि र त्यसपछिका समयहरुले के देखाउँछन् भन्ने कुरा स्पष्ट छ । जसरी पनि सत्तामा जानै पर्ने र सत्तामा जानका लागि जस्तोसुकै व्यक्ति या सिद्धान्त र नीतिप्रति तत्काल सम्झौता गरिहाल्ने बानीले आजको प्रजातन्त्रलाई गाँजेको बुझ्न गाह्रो छैन ।
३.सत्तारुढ हुने भनेको काम गर्ने जिम्मा लिनु हो । प्रजातन्त्रमा काम गर्ने जिम्मा लिने भनेको जनादेशका आधारमा हो । संसदको संख्याले निर्धारण गर्ने पनि हो र वहुमतीय प्रणालीको आधारमा सत्तामा जाने या ओर्लने भन्ने स्वाभाविक तरिका हो । तर कृत्रिमरुपमा गरिने सत्तारुढ र सत्तारुढ भएपछि प्रजातन्त्रकै विरुद्धमा सम्पूर्ण क्रियाकलाप गर्ने प्रवृत्तिलाई नै अन्तध्र्वंशी भनिएको हो । बीपीले यही कुरा २०३७सालमा पञ्चायतमा प्रवेश गरेका कम्युनिस्टहरुलाई एकदिन राजतन्त्रकै अन्त्य गर्ने आधार हुने कुराको चेतावनी दिनु भएको थियो जसलाई अडिट फर्मुलाको नाम दिनु भएको थियो । अडिट फर्मुला भनेको इन्डोनेसियाको घटनाका आधारमा भनिएको थियो जसमा कमरेड डी एन अडिटले कसरी घुसपैठ गरे सत्ताभित्र र कसरी सुहार्तोले सत्ताको साँचो आफ्ना हातमा लिए । आखिर जनयुद्धसमेतमा राजतन्त्रको सहयोग र साथ थियो भन्नेसम्मको खुलासा बेलामौकामा माओबादीहरुले दिएकै छन् र हिजोका दिनमा पञ्चायती राजमा कसरी कम्युनिस्टहरुले आफ्नो वर्चस्व कायम गरेका थिए भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । जसरी पनि सत्तामा जानै पर्ने भनेको निरंकुशतामा हुन्छ र अवसरवादी राजनीतिमा हुन्छ । अहिले त्यस्तै भएको देख्न पाइन्छ । कुनै पनि दल त्यो भावनाको विरुद्धमा देखिएका छैनन् ।
४.प्रजातन्त्रलाई अत्यन्त संवेदनशील शासन प्रणालीको रुपमा लिइन्छ । यो स्वतः पारदर्शी र स्वचालित प्रणाली पनि हो । त्यसैले यसलाई परम्परावादी शासन प्रणाली पनि भन्ने गर्छन् । तर प्रजातन्त्र जत्तिको गतिशील र प्रगतिशील शासन व्यवस्था भने अरु पाइँदैन । हामीले प्रजातन्त्र नै किन चाहेको भने यसले मात्र जनताको भावनाको प्रतिनिधित्व गर्नसक्छ । आजभोलि हामी प्रजातन्त्रलाई लोकतन्त्र पनि भन्ने गर्छौँ । लोकतान्त्रिक व्यवस्थाले जहिले पनि जनादेशको कदर गर्नुपर्छ । जनादेशका लागि पहिलो सर्त नै स्वतन्त्र, पारदर्शी र निर्भयताका साथ सम्पन्न हुने निर्वाचन हो र त्यो निर्वाचनमा जनताले छान्ने प्रक्रियाको पनि एउटा परम्परा कायम गर्ने गरिन्छ ।
५.प्रजातन्त्र एउटा जनताको लागि गरिने शासनको माध्यम हो । त्यसलाई वहुदलीय व्यवस्थाले कसरी प्रजातान्त्रिक तरिकाले सञ्चालन गर्ने भन्ने कुराको निधो गर्ने त्यहाँ गरिने गतिविधिहरुले देखाउँछ । यता नेपाली राजनीतिमा तरबार बेचुवा र घिउ बेचुवाको राजनीतिले जसरी जरो गाडेको देखिन्छ , त्यसले आगामी दिनमा प्रजातन्त्रको भविष्यमाथि चिन्ता गर्नु पर्ने हुन्छ ।
६.त्यसो त प्रजातन्त्रको लागि खुलेको र जहिले पनि प्रजातन्त्रको पक्षमा लाग्न भनेर अग्रजहरुबाट बिरासतमा पाएको नेपाली कांग्रेसमा समेत प्रजातन्त्रप्रतिको मोह भन्दा सत्ताको मोहले गरिने व्यवहारले आम जनताले विकल्पको खोजी गर्न थालेका देखिन्छन् । अचम्म त केमा छ भने विकल्प खोेज्नेहरुले विकल्प कस्तालाई मानेका देखिन्छन् भने जसको प्रजातन्त्रप्रति नै विश्वास छ कि छैन ध्यान दिने आवश्यकता ठान्दैनन् । जसरी पनि सत्तामा जान चाहनेहरुले दिने चर्का भाषण र सुन्दर भविष्यको कल्पनाले जनतामा विकल्पको आधारभूमि तयार गरेको देखिन्छ । त्यसको कारण हो प्रजातन्त्रको आधारभूत मान्यताबाट नेपाली कांग्रेस टाढा टाढा जान लागेको देखिएर हो । त्यसो त हिजोका इतिहासको मात्र कुरा गरेर हुँदैन, जनताले देखिने , सुनिने र भोगिने गरी जनताको दैनन्दिनीमा सकारात्मक प्रभाव पारेको देखिनु पर्छ ।
७.भयावह भविष्यको अनुमान गरिँदैछ । नेपाल अब शक्ति राष्ट्रको प्रत्यक्ष खेल मैदान हुन थालेको छ । साँच्चै अहिले त नेपालको सरकार बनाउन छिमेकी ठुलो पर्खाल नाघेर नेपाली राजधानीमा ओर्लेको देखियो भन्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीको कुरा सत्य हो र प्रयोगधर्मी व्यक्तिको रुपमा उहाँ नै प्रयोगमा पर्नु भएको तथ्य उहाँले बुझ्नु भएकाले भन्नु भएको हो, छिमेकी पर्खाल नाघेर आएका हुन् । पात्रहरु को को हुन् भन्ने परेन ।
८.कसले कसलाई धोका दियो भन्नै परेन । कसले बढी लोभ गरेको हो भन्ने परेन । तर अब नेपाली कांग्रेसले आफ्नो क्रियाकलापमा प्रजातान्त्रिक प्रक्रियालाई जनताले देखिने गरी पारदर्शीपन देखाएर संगठन गर्न सक्ने भएमा र प्रजातन्त्र जोगाउने काम गरेमा अन्तध्र्वंशीहरुको सम्पूर्ण प्रयास ध्वस्त हुने देखिन्छ ।
९. र अन्त्यमा, संसदको निगरानी गरेर जसरी हुन्छ बाटो बिराएको संसदीय प्रणालीलाई बाटोमा ल्याउने काम अब नेपाली कांग्रेसले गरोस् । संसदीय परम्पराका विरोधीहरुको नकाब उतारोस् । आवश्यक परे मध्यावधि निर्वाचनमा मुलुक जान सक्ने कुरामा सतर्कता अपनाओस् र संसदको निगरानी गर्नका लागि दृढताका साथ लागी परोस् । संविधानको रक्षा संविधान विरोधीहरुबाट होला भनेर ढुक्क बस्ने अवस्था छैन किनभने कम्युनिस्टहरुका लागि संविधान भनेको आफ्नो प्रयोगका लागि मात्र हो र अरु पनि जति सत्तामा छन् , ती कसैको पनि प्रजातान्त्रिक संविधानवादप्रति न त विश्वास छ, न त संविधानवाद प्रतिको प्रतिबद्धता नै छ । संविधानभित्रैबाट संविधान भत्काउन आएकाहरुको नियतको नकाब उतार्ने र मुलुकलाई अस्थिरतबाट जोगाउने कामको जिम्मा नलिने हो भने न त कांग्रेसको भविष्य रहने छ , न त नेपालमा प्रजातन्त्रको भविष्य छ । खतरा मडारिएको छ निकट भविष्यमा नै । खतरा सुँघ्ने बानी त छैन तर खतरा पहिल्याउने र समाधानका लागि अहिलेदेखि नै लाग्नु आवश्यक देखिन्छ ।




