काठमाडौं । सत्तारुढ गठबन्धनबिच भागबण्डा टुङ्गो नलाग्दा मन्त्रिपरिषद् विस्तार अलपत्र परेको छ ।
सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डाको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सपथ लिएकै दिन नियुक्त भएका ४ जना मन्त्री समेत भागबण्डा टुङ्गो नलागेका कारण विनाविभागिय रहिरहेका छन् ।
शुरुमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि भागबण्डा मिलाउने बताइएको भएपनि विश्वासको मत लिइसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि शुरु भएको देखिएको छ ।
खासगरी एमाले नेता कार्यकर्ताहरुले कांग्रेसले विश्वासको मत दिएको भन्दै आलोचना गरिरहेको समेत देखिएको छ । गठबन्धनमा रहेका दलहरुका बिचमा आन्तरिक रुपमा समझदारी हुन नसकेकै कारण मन्त्रिपरिषद् विस्तारको काम प्रभावित भएको बुझ्न कठिन छैन ।
माघ ५ गते प्रतिनिधिसभामा सभामुख चयन गर्ने कार्यतालिका रहेको छ । कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि सभामुख र राष्ट्रपतिमध्ये एक पद कांग्रेसले लिनेगरी तयारी अघि बढिरहेको दाबी गरिएका बेला मन्त्रिपरिषद् विस्तार हुन नसक्दा अनेक आशंका शुरु भएको छ ।




