काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुख चुनावबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । बिहिबार सभापति देउवा निवासमा बसेको कांग्रेस पदाधिकारीको अनौपचारिक बैठकले प्रधानमान्त्री प्रचण्डसँग छलफल गर्ने जिम्मेवारी सभापति देउवालाई दिने निर्णय गरेको हो ।
वर्तमान सरकारलाई विश्वासको मत दिने चामत्कारिक निर्णय गरेको कांग्रेसको बिहिबारको अनौपचारिक निर्णयले विश्वासको मत दिने बेलामा माओवादीसँग केही सहमति भएको दाबीलाई बल पुगेको छ । यसअघि कांग्रेसले विश्वासको मत दिने निर्णयपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जालझेल गर्न खोजे त्यो सफल नहुने चेतावनी दिएका थिए ।
ओलीले कांग्रेसलाई यस्तो चेतावनी दिएको भएपनि अहिलेको सत्तारुढ गठबन्धनभित्र शुरुवातमै असमझदारी देखिएको थियो । प्रचण्डलाई विश्वासको मत दिने संसद बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले गरेको संसद विघटन सही रहेको टिप्पणी गरेका थिए । त्यसको जवाफमा नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालले सत्ता गठबन्धनको औपचारिक धारणा मागेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले आफु संसद विघटनको विपक्षमा रहेको संकेत गरेका थिए । उनले संविधानको रक्षा गर्नु सरकारको प्राथमिकता रहेको समेत भनेका थिए । सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये एमालेले संसद विघटनको पक्षमा आवाज उठाइरहेको भएपनि माओवादी केन्द्र भने संसद विघटन गलत थियो भन्ने निष्कर्षमा यथावत् छ । जसका कारण सत्ता गठबन्धनभित्र केही असमभदारी रहेको स्पष्ट हुन्छ ।
यता कांग्रेस माघ ५ गते हुने सभामुखको निर्वाचनमा उम्मेदवारी दिने तयारी शुरु गर्नुलाई अहिलेको गठबन्धनको भविष्यसँग जोडेर समेत हेरेका छन् । कांग्रेसभित्र सभापति देउवाका प्रतिस्पर्धीका रुपमा रहेका नेता डाक्टर शेखर कोइरालासम्मले सभापति देउवाकै पक्षमा बोल्न शुरु गरेका छन् ।
बिहिबार मात्रै विराटनगरमा नेता कोइरालाले भनेका छन्, ‘म सभामुख, उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नु हुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट (विश्वासको मत) हालेका हौं ।’
डाक्टर कोइरालाको यो भनाईले पनि कांग्रेसले सभामुख र राष्ट्रपतिमा दाबी गर्ने सम्भावना देखिएको छ । तर कांग्रेसका उम्मेदवार विजयी हुन अहिलेको गठबन्धन भत्किनुपर्छ । माओवादी सांसदहरुले मत दिदा मात्रै कांग्रेसका उम्मेदवार विजयी हुने अबस्थामा कांग्रेसले उम्मेदवारी घोषणा गर्दा त्यसको तरंग भने बालकोटसम्म पुगेको छ ।




