काठमाडौं । नाबालिका बलात्कार आरोपमा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
अदालतले धरौटीमा छाड्न आदेश दिए पनि लामिछानेलाई प्रहरीको अनुमतिविना काठमाडौं उपत्यका छाड्न रोक लगाएको छ । लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत पाटनले सन्दीपलाई पाँचवटा शर्त निर्धारण गरेको छ । शर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत् पुनः पक्राउ गरी थुनामा राख्नसक्ने अदालतको आदेशमा उल्लेख छ ।
अदालतले दिएको आदेशमा सन्दीपलाई नेपाल छाड्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै जाहेरवालीको परिवारलाई भेट्न, धम्की दिन वा प्रभावमा पार्न निषेध गरिएको छ । त्यसैगरी मुद्दाको सम्बन्धमा सामाजिक सञ्जाल लगायतमा लेख्न प्रतिबन्ध लगाइएको छ । त्यसैगरी आदेशमा उपत्यका छाड्नुपरेमा काठमाडौं प्रहरीलाई जानकारी गराई स्वीकृति लिनुपर्ने शर्त दिइएको छ भने सन्दीपको मोबाइल डिभाइसबाट फोन कल, म्यासेज वा लोकेशनको निरन्तर निगरानी गर्न भनिएको छ ।




