काठमाडौं । एक साताअघि आठ सदस्यीय मन्त्रीमण्डल लिएर सिंहदरबार प्रवेश गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो दिन नै देखिने गरी काम गर्ने दाबी गरेका थिए । तर, एक साता बितिसक्दा पनि दाहालले बधाई थाप्न र उद्घाटन गर्नमै व्यस्त छन् । तेस्रोपटक सरकारको नेतृत्व गरेका दाहालले न मन्त्रिपरिषद् विस्तार गर्न सकेका छन् न भएका मन्त्रीलाई नै काम दिएका छन् । आज मन्त्रालयका सचिवहरूसँग छलफल गरेर दाहालले आफू काममा फर्किएको देखाउन खोजेका छन् ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि साँझ ८ बजे सिंहदरबार सिंहदरबार प्रवेश गरे । पदभार ग्रहणलगत्तै बसेको मन्त्रिपरिषद् बैठकपछि सेवा प्रवाह र अर्थतन्त्र सुधारमा सरकारले देखिने गरी काम गर्ने बताएका थिए ।
काममा केन्द्रित हुन्छु भन्ने प्रधानमन्त्री दाहालको भनाइ र केही दिनका उनका गतिविधि भने मेल खाएको पाइँदैन । पदभार सम्हालेको दोस्रो दिन पुस १२ दिउँसो ३ बजेसम्म खुलमलटार निवासमै बधाई ग्रहण गरेका दाहाल ३ बजेपछि मात्रै सिहंदरबार पुगे । पुस १३ गते बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका दाहालले दिउँसो खुमलटार निवासमै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे । त्यसपछि खुमलटारमै कार्यकर्तासँग भेटघाटपछि साँझ सरकारी निवास बालुवाटार सरेका थिए ।
पुस १४ गते बालुबाटारमा सत्ता साझेदार दलको बैठकमा सहभागी दाहालले दिउँसो बालुबाटारमै नेपालका लागि अमेरिकी राजदूतसहितको टोलीसँग भेटघाट गरे । पुस १५ गते भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरेका दाहालले सोही दिन काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसारको कार्यक्रममा उपस्थित भए भने साँझ चिनियाँ दूतावासको टोलीलाई भेटे ।
पुस १६ गते गृहजिल्ला चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा पुगेका दाहालले पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । अन्य दिनको तुलनामा पुस १८ गते सिंहदरबारमा केही बढी समय बिताएका दाहालले निर्वाचन आयोगका पदाधिकारी र मन्त्रालयका सचिवहरूसँग छलफल गरे ।
दाहालले अब प्रधानमन्त्रीको रुपमा यी सबै समस्या र व्यथितिहरूको अन्त्य गर्दै कसरी अघि बढ्लान् ? त्यो हेर्न भने बाँकी छ ।




