काठमाडौं । नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादीलाई फुटाएपछि एमाले अध्यक्ष केपी ओली अहिले एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मर्ज गरेर ठूलो शक्ति बन्न खोजेका छन् । त्यसका लागि उनले अनेक फन्डा सुरु गरिसकेका छन् । एकीकृत समाजवादीलाई एमालेमा मिसाउन सके र दुईजना स्वतन्त्र सांसदलाई तान्न सके सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ कि भनेर उनी लागिपरेका छन् ।
यदि ओली सबैभन्दा ठूलो दलको नेता बनेमा त्यसको राजनीतिक रूपमा घाटा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै भोग्नुपर्ने छन् ।ओली सत्ता बाहिर बस्न सक्दैनन् भन्ने कुरा कांग्रेसको गठबन्धन फुटाएर पुष्टि गरिसकेका छन् । अहिले नै उनले एमालेलाई १२ मन्त्रालय, बाँकी अन्य ६ दललाई दिने भनेर घमण्ड देखाइसकेका छन् । जसकारण प्रधानमन्त्री प्रचण्ड तनावमा परेका छन् ।
पार्टीमा मन्त्रीका आकांक्षी धेरै हुनु अनि ओलीले अहिलेदेखि नै पेल्न थालेपछि प्रचण्डले कांग्रेससँगको गठबन्धन टुटाएको फल भोग्न थालिसकेका छन् ।
त्यसमाथि प्रचण्ड पनि एकीकृत समाजवादीलाई एमालेमा मिलाउन लागिपरेको देखिएको छ । यसले प्रचण्डको शक्ति क्षयीकरण झन् तीव्र रुपमा ओरालो लाग्ने निश्चित छ । यदि माधव नेपालको एकीकृत समाजवादीलाई अलग दलको रुपमा उनले सामेल गराउन सके भने मात्र ओलीलाई साइजमा राख्न सक्छन् । यदि ओलीले निहुँ खोजेमा कांग्रेससँग गठबन्धन गरेर भए पनि सरकार चलाउन सक्छन् ।
त्यही भएर अहिले प्रचण्डको नीति माधव नेपाललाई ओलीसँग दूरी घटाउन होइन, बढाउनतिर हुनुपर्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ । त्यसो हुन सकेमा मात्र ओलीको रवाफ रोक्न उनी सफल हुनेछन् र साढे दुई वर्ष ढुक्कले सरकार चलाएर ओलीलाई हस्तान्तरण गर्न सफल हुनेछन् । यदि माधव नेपाललाई अहिले नै ओलीको कोटरीमा लगिदिए भने ओलीमा पावर बढ्ने र त्यसको घाटा प्रचण्डलाई हुने देखिन्छ । त्यही भएर अहिले उनलाई एमालेलाई साइजमा राख्न पनि माधव नेपालसँग अलग्गै ढंगले छलफल गर्नुपर्ने निकटस्थहरूले सुझाव दिएका छन् ।
यतिबेला माधव फकाउन ओलीले विभिन्न हथकण्डा अपनाइरहेका छन् । माधव फकाउन अब ओली मात्र कोटेश्वर पुग्न बाँकी छ । विष्णु पौडेल, महेश बस्नेतलगायतका ओलीका दूतले माधवलाई गलाउन सकेका छैनन् । पार्टीमा आए विभिन्न अफर पनि नदिइएको होइन । तर माधव अहिले नै गल्ने नेता होइनन् । उनी ओलीलाई झुकाएर मात्र आफ्नो शक्ति आर्जन गर्न चाहिरहेका छन् ।
्
त्यसैले उनले नेकपाकालीन पार्टीसँग मात्र एकता हुन्छ भनेर जवाफ दिइसकेका छन् । राजनीति भनेको अनेक सम्भावनाको खेल हो भन्ने कुरा हालैको नेपालको राजनीतिले पनि पुष्टि गरिसकेको छ । पहिलो र दोस्रो दललाई उछिन्दै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको छ ।




