काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबिच एकताका लागि प्रयास शुरु भएको दाबी गरिएको छ । नेकपा एकीकृत समाजवादीसँग पाटीृ एकताका बारेमा औपचारिक छलफल शुरु नभएको भएपनि प्रयास भने भइरहेको बताइन्छ ।
अहिलेको सरकार गठनमा निर्णायक शक्तिका रुपमा रहेको एमाले समाजवादीसँग किन पार्टी एकता चाहन्छ भन्ने प्रश्न भने उठ्न थालेको छ । एमालेसँग मिलेर सरकार गठन गर्ने सहमतिका बेला आफुलाई जानकारी नदिएका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्ट देखिन्छन् । यसैलाई क्यास गर्नेगरी एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकतासम्मको तयारी गरेको देखिएको छ ।
नेकपा एकीकृत समाजवादीँिग पार्टी एकीकरण गर्नुपूर्व अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने सन्देश अध्यक्ष ओलीले पठाइसकेका छन् । त्यसको पुष्टि एमाले उपाध्यक्ष समेत रहेकी बाग्मती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले गरेकी छन् ।
एमालेले नेकपा एकीकृत समाजवादीसँग किन पार्टी एकतासम्मको प्रयास गरेको भन्ने विषय अहिले नै स्पष्ट भएको छैन । तर यसलाई कतिपयले संविधानको धारा ७६(३) सँग जोडेर विष्लेषण गरेका छन् ।
जुन उपधारामा दुई वा दुईभन्दा बढि दलको समर्थनमा सरकार गठन हुन नसके संसदको सबैभन्दा ठुलो दलको नेता प्रधानमन्त्री चयन हुने व्यवस्था छ । अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी बनाउनका लागि माधव नेपालसँग एकताको प्रस्ताव गरेका हुन् ।
ओलीले माधव नेपालसँग एकता गर्ने र अन्य स्वतन्त्र सांसदहरुलाई मिलाएर ठूलो पार्टी बन्ने र संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन गर्ने अभियान शुरु गर्न खोजेको आँकलन समेत भइरहेको छ ।
अहिले संसदमा ८९ सांसदसहित नेपाली कांग्रेस पहिलो पार्टी रहेको छ भने एमाले ७८ सिटसहित दोस्रो पार्टी छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका १० सांसद रहेका छन् । माधव नेपालसँग एकता गर्दा एमालेको ८८ सांसद् हुन्छन् भने अन्य दुई स्वतन्त्र सांसदलाई मिलाएर ९० सांसद पुर्याउने एमालेका लक्ष्य रहेको देखिएको छ ।
९० सांसद् पुर्याएर देशको ठूलो पार्टी बनेसँगै संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा दाबी गर्ने प्रावधान रहेको छ। माधव नेपालसँगको एकतापछि नेता नेपाललाई राष्ट्रपति र ओली आफू प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् । यससँगै राप्रपासहित अन्य दल मिलाएर सरकार गठन गर्ने रणनीतिलाई ओलीले तीव्रता दिएका हुन्।



