काठमाडौं । सरकार गठन भएको एकसाता नबित्दै एमाले नेतृत्वको गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रम तयार गर्ने जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् ।
बिहिबार बिहान बसेको सत्तारुढ दलका शिर्ष नेताहरुको बैठकले अध्यक्ष ओलीलाई साझा कार्यक्रम तयार गर्न जिम्मेवारी दिएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेका अनुसार ओली नेतृत्वको समितिले ५ दिनभित्र नीति तथा कार्यक्रम तयार गर्नेछ ।
यता अध्यक्ष ओलीले भने सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्ने जिम्मेवारी भने एमालेका तर्फबाट सरकारमा सहभागी भएका उपमहासचिव विष्णु पौडेललाई दिएका छन् । त्यतिमात्रै होइन, एमाले अध्यक्ष ओलीले नै सरकारमा सहभागी दलका लागि मन्त्रालय भागबण्डाको टुङ्गो लगाउनेछन् ।
यसरी सरकार माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा गठन भएको भएपनि शक्ति भने एमाले अध्यक्ष केपी शर्मा ओलीको हातमा पुगेको देखिएको छ । मन्त्रिपरिषद् आफैमा सर्वोपरी संस्था भएपनि सरकार सञ्चालनका सबै काम भने एमाले अध्यक्ष ओलीले गर्ने देखिएको छ ।
त्यसोत सरकार गठनकै बेला समेत ओली हावी भएका थिए । सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालयको नेतृत्व दिनमा समेत एमाले अध्यक्ष ओलीको निर्णयकै कारण प्रचण्ड बाध्यतामा परेको बताइन्छ । सरकारमा एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलको नेतत्वमा अधिकांश नयाँ अनुहारलाई एमालेले अवसर दिएको छ । र अब एमालेले पठाउने मन्त्री पनि नयाँ सांसद हुने देखिएको छ ।
७ दलको समर्थन एकातिर त अर्कातिर एमाले निर्णायक शक्तिका रुपमा रहेका कारण प्रधानमन्त्री प्रचण्डलाई काम गर्न सहज छैन । यस्तोमा एमाले अध्यक्ष ओलीले बालकोट बसेर वालुवाटार सञ्चालन गर्ने त होइनन् भन्ने प्रश्न समेत शुरु भएको छ ।
ओली तिनै व्यक्ती हुन्, जो प्रधानमन्त्री भएका बेला उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने विषय सुन्न समेत चाहन्नथे । अरु त अरु कोरोना महामारीका बेलामा सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल शुरु हुनासाथै ओलीले चर्को आलोचना गरेका थिए ।
तर अहिले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपनि शक्तिको बाँडफाँटदेखि सरकार सञ्चालनको मस्यौदा बनाउने जिम्मेवारी समेत ओली आफैले लिएका छन् ।



