काठमाडौं । शक्ति बाँडफाँड र सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
बिहान ९ बजे बस्ने भनिएको बैठक केही ढिला गरी प्रधानमन्त्री निवास बालुवाटमा सुरु भएको हो ।
अहिले जारी बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता छलफलमा जुटेका छन् ।
सरकारलाई समर्थन गरेका सातै दलका नेता बैठकमा सहभागी हुने भनिए पनि अहिले बालुवाटारमा बसिरहेको बैठकमा भने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच छलफल भइरहेको हो ।
सत्ता गठबन्धनले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुङ्गिएको छैन। राष्ट्रपति र उपराष्ट्रपति भने क्रमश: एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ ।
एमालेभित्र राष्ट्रपतिमा सुवास नेम्वाङसहितका नेताहरु आकांक्षी छन् । सभामुखमा छबिलाल विश्वकर्मा, पृथ्वीसुब्वा गुरुङ, रघुवीर महासेठ र विद्या भट्टराईमध्येबाट एकजनालाई पठाउने तयारी एमालेको छ ।
यस्तै सातवटा प्रदेश सरकार र प्रदेश प्रमुखकोसमेत टुङ्गो लगाउन बाँकी छ ।
चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको नेताहरुले बताएका छन् ।



