काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने भएको छ । देशभरका नेतारूलाई बुधबार जुममार्फत सम्बोधन गरेपछि उनीहरुले दिएको सुझावका आधारमा अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णयको तयारी गरेका हुन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनु पर्ने बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय समेत गरेको छ ।
उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।
सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र)का नेताहरु नेकपा (एमाले)लाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ ।
सत्ता साझेदार दलको बैठक भोलि बिहीबार बालुवाटारमा बस्ने भएको छ । खुमलटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले भोलि बालुवाटारमा बैठक बस्ने निष्कर्ष निकालेको हो ।
सरकारले दुई अभियुक्तलाई फरक फरक व्यवहार गरेको आरोप लागेको छ । एकै प्रकृतिको मुद्दा खेपिरहेका दुई सांसदलाई फरक फरक व्यवहार गरेको आरोप लागेको हो । भ्रष्टाचार आरोपीको सांसद पद निलम्बन गर्दा हत्या आरोपलाई संरक्षण गरेको आरोप लागेको हो ।
नेपाली कांग्रेसको संस्थापन इतरले सत्ता लिप्साका कारण पाँच दलीय गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बुधबार बसेको इतर समूहको बैठकले यस्तो निष्कर्ष निकालेकोे हो । बैठकपछि नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा केन्द्रित भएकाले गठबन्ध टुटेको निष्कर्ष निकालिएको जानकारी दिए ।
आन्दोलनलाई निरन्तर दिने निर्णयबाट निजी क्षेत्र पछि हटेको छ । ब्याजदर कम गर्नुपर्ने र चालू पुँजी कर्जा कार्यविधि कम्तीमा दुई वर्षको लागि स्थगित गर्नुपर्ने माग राख्दै देशैभर आन्दोलन गरिरहेको निजी क्षेत्र बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा माग सम्बोधन गर्ने आश्वासन पाएपछि पछि हटेको हो ।
बुधवार नेप्से परिसूचक सामान्य अंक घटेको छ । नेप्से परिसूचक ११ दशमलव ८१ अंक घटेर १ हजार ९७२ दशमलव १५ विन्दुमा कायम भएको हो । दुई दिनमा ११६ अंक बजार बढेको थियो । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै सामान्य करेक्सन आएको हो ।
दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका छन् ।



