सम्पादकीय

कांग्रेसको ‘रणनीतिक मुभ’

अन्ततः सत्ताको खेलमा नेपाली कांग्रेस पराजित बनेको छ । जसरी भए पनि प्रधानमन्त्री बनेरै छाड्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खेलले कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ । तत्कालका लागि कांग्रेसलाई ठूलो क्षति पुगेको छ । तर कालान्तरमा हेर्दा कांग्रेसले रणनीतिक मुभ पनि गरेको हुन सक्छ ।

कांग्रेस र कम्युनिस्टबीचको गठबन्धन यसै पनि अप्राकृतिक थियो । कांग्रेस लोकतान्त्रिक पार्टी हो भने प्रचण्ड, माधव नेपालहरू कम्युनिस्ट पार्टी । हालै सम्पन्न निर्वाचनमा पनि कांग्रेस कार्यकर्ता र शुभेच्छुकले गठबन्धन भए पनि हँसिया हथौडामा भोट हाल्न मानेनन् । नत्र अहिले कांग्रेसकै नेतृत्वमा सरकार बन्थ्यो ।

त्यही भएर यसपटक कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवैमा अडान राखेको हुन सक्ने विश्लेषण पनि गरिएको छ ।अहिलेको सरकारमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सबै सामेल हुँदा त्यहाँ हुने खिचातानीले लामो समयसम्म सरकार नचल्ने कांग्रेसको बुझाई हुन सक्छ ।

त्यसमाथि अब नेपाली कांग्रेसको नेतृत्वमा युवा पुस्ताका नेताहरू हाबी देखिएका छन् । अहिले उपसभापति र महामन्त्रीमा निर्वाचित भएकाले नै हो अब कांग्रेस हाँक्ने । यिनीहरूले सुझबुझ ढंगले पार्टी चलाए भने अबको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देउवाको विश्लेषण रहेको अनुमान गरिएको छ । दोस्रो ठूलो पार्टीमा सीमित कांग्रेसलाई स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनाउन सक्नु देउवाको उपलब्धि हो ।

उनको राजनीतिक इतिहासमा यो सुनौलो ढंगले लेखिनेछ । सधैं कम्युनिस्टहरूसँग सत्ता सहकार्य गर्दा, गठबन्धन गरेर जाँदा कांग्रेसको भविष्य नदेखेकाले हुन सक्छ देउवाले अहिले गठबन्धन टुटे पनि कांग्रेसको राजनीति जिताउन चाहेको । त्यसैले अहिले कांग्रेसमा ठूलो जमात कांग्रेस एक्लै हिँडेको देख्न चाहिरहेका छन् । साथसाथै एकढिक्का बनेर जानुपर्ने आवश्यकता पनि देखिएको छ ।
विगतमा पनि कांग्रेस प्रतिपक्षमा बसेकै हो । कांग्रेसलाई सधैं कर्नरमा पारिएकै हो । तर देशमा जबजब संकट आइपर्छ तब कांग्रेसले नै नेतृत्व लिने गरेको इतिहास छ । चाहे राणा फाल्दा होस्, चाहे पञ्चायती शासन व्यवस्था मिल्काउँदा नै किन नहोस् कांग्रेसले नै नेतृत्व गरेको छ । माओवालीलाई मूलधारको राजनीतिमा ल्याउन, संविधान जारी गर्न तथा संविधानको कार्यान्वयन हुने आवधिक निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा मात्र सम्भव हुन सकेको छ ।

त्यसैले अहिले केही समयका लागि सत्ता बाहिर रहँदा कांग्रेसले राजनीति नहारेको सभापति देउवाको बुझाई देखिन्छ । उनले आगामी दिनमा युवा पुस्ताका नेताहरूलाई अघि बढाए भने कांग्रेस अहिलेको भन्दा ठूलो दल बन्ने निश्चित छ । अहिलेको आवश्यकता भनेकै कांग्रेसमा संयमता, धैर्यता, विवेक नगुमाउने नै हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *