काठमाडौँ । शुक्रबार रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ । रुसले एकै दिनमा ७० वटा क्षेप्यास्त्र प्रहार गरी युक्रेनको तीन सहर ध्वस्त पारेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयबाट प्राप्त जानकारी अनुसार कीभ क्रिभि रिह क्षेत्रमा मिसाइल आक्रमणका कारण आवासीय भवन भत्किँदा तीन जनाको मृत्यु भएको छ । खर्सोनमा गोली लागेर एक जनाको ज्यान गएको छ ।
रुसले युक्रेनको उत्तरपूर्वी भागको राजधानी किभ र खार्किभमा यी हमला गरेको थियो । रुसी आक्रमणले खार्किभ र सुमी क्षेत्रहरूमा बिजुली अवरुद्ध भयो, जसले युक्रेनभरि ब्ल्याकआउट निम्त्यायो । एक अधिकारीले युक्रेनको बिजुली आपूर्ति आधा कटौती भएको बताए । अब अस्पताल, खानेपानी प्रणाली र ढल प्रशोधन केन्द्रमा मात्रै विद्युत् आपूर्ति गरिने भएको छ ।
शुक्रबार रुसी आक्रमणपछिका तस्बिरहरूले कडा जाडोमा सयौं मानिसहरू बिजुलीविहीन भएको देखाएको छ, जबकि मिसाइलहरूले भवनहरूलाई क्षति पुर्याएको छ । मानिसहरूले मेट्रो स्टेशनहरू, बंकरहरू र पार्किङ स्थलहरूमा लुकेर रात बिताए । साथै, धेरै तस्बिरहरूले पनि आक्रमणको समयमा धेरै मानिसहरू खुला ठाउँमा बस्न बाध्य भएको देखाउँछ ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनका जनतालाई राति अबेर भिडियो सन्देश दिएका छन् । यसमा जेलेन्स्कीले रुसलाई ‘रकेटको पुजारी’ भनेका छन् । उनले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली सुधार गर्न नाटो देशसँग सहयोग मागेका छन् । जेलेन्स्कीले रुससँग अब हवाई आक्रमणका लागि पर्याप्त मिसाइलहरू छन् । जेलेन्स्की मात्र नभई नाटो प्रमुखले पनि रुसी आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । जेन्स स्टोल्टनबर्गले रुसले लामो युद्धको तयारी गरिरहेको बताए । हामीले कुनै पनि हालतमा रूसलाई कम मूल्याङ्कन गर्नु हुँदैन । युक्रेनका सहयोगीहरूले पुटिनले युद्ध जित्न नसक्ने महसुस नगरेसम्म हतियारहरू पठाइरहनुपर्नेछ ।
कीभका मेयर भिटाली क्लिट्स्कोले शुक्रबार मानिसहरूलाई रुसले हवाई आक्रमण नरोकेसम्म बंकरहरूमा बस्न आग्रह गरे। उनले युक्रेनी सहर क्रेमान्चुकका दुई लाख मानिसले रुसी आक्रमणका कारण आफूलाई न्यानो राख्ने कुनै माध्यम नभएको पनि औंल्याए । जबकि उक्त क्षेत्रको तापक्रम माइनस १० डिग्री सेल्सियस पुगेको छ । कीभमा क्षेप्यास्त्र प्रहार भएको घण्टौंदेखि मर्मत कार्य चलिरहेको छ, तर पनि त्यहाँका ६० प्रतिशत जनता बिजुलीविहीन जीवन बिताइरहेका छन् । बिहीबार पनि रुसले युक्रेनको धेरै क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । जसमा २ जनाको मृत्यु भएको थियो ।
रुसले युक्रेनलाई लगातार मिसाइल आक्रमण गरेर घुँडा टेकाउने प्रयास गरिरहेको छ । तर, युक्रेनले पनि यी हवाई आक्रमणको कडा प्रतिकार गरिरहेको छ । बुधवार, युक्रेनले राजधानी कीभमा १३ ड्रोनहरू नष्ट गर्यो । युक्रेनी सेनाका जनरल ओलेक्सी रेज्निकोभले रुसले अर्को वर्षको सुरुमा आक्रमणको गति बढाउन सक्ने चेतावनी दिएका छन् । यससँगै उनले रुसले २ लाख नयाँ सैनिक तैनाथ गर्ने तयारी गरिरहेको पनि बताए ।




