काठमाडौं । अरुणाञ्चल प्रदेशको तवाङमा चीनिया सैनिकसँग भिडन्त भएको केही समयमै भारतले अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल परीक्षण गरेको छ ।
भारतको सबैभन्दा शक्तिशाली मिसाइलका रुपमा बताइएको अग्नि–५ को बुधबार राती सफल परीक्षण गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ५० हजार किलो तौल भएको मिसाइल ५ हजार ५ सय मिटरसम्म मार हान्न सक्ने क्षमताको रहेको समाचारमा उल्लेख गरिएको छ ।
साढे १७ मिटर लामो मिसाइलले १ हजार ५ सय किलो परमाणु हतियार बोक्न सक्ने बताइएको छ । मिसाइल प्रतिसेकेण्ड ८.१६ किलोमिटरको दुरी पार गर्ने क्षमता रहेको दाबी गरिएको छ ।
भारतको रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ) र भारत डायनामेक्स लिमिटेडले संयुक्त रुपमा निर्माण गरेको मिसाइलको सफल परीक्षण भएको हो । यसअघि अग्नि–५ को पहिलो परीक्षण भने सन् २०१२ को अप्रिल १९ मा भएको थियो ।




