सम्पादकीय

देउवाकै नेतृत्वमा कांग्रेस ठूलो दल

पाँच वर्षपछि नेपाली कांग्रेस देशकै ठूलो दल बन्न सफल भएको छ । अघिल्लो निर्वाचनमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा कांग्रेस दोस्रो ठूलो दलमा सीमित भएको थियो । संघको प्रत्यक्षतर्फको निर्वाचनमा त कांग्रेसले जम्मा २३ सिट मात्र जितेको थियो । तर, पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नेपाली कांग्रेस स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा ठूलो दल बन्न सफल भएको छ । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा सुशील कोइरालालाई कांग्रेसलाई ठूलो दल बनाउने श्रेय गएको थियो ।

कांग्रेसकै नेतृत्वमा नेपालमा संविधानसभाबाट संविधान जारी हुन सक्यो । त्यसपछिको निर्वाचनमा भने वाम तालमेलका कारण कांग्रेस दोस्रो दलमा खुम्चन बाध्य भयो । त्यति मात्र होइन, संसदमा कम्युनिस्टहरूको वर्चश्व कायम भयो ।
नेपाली कांग्रेसको संगठन सिध्याएको, कम्युनिस्ट शक्ति ठूलो भएको भन्दै कांग्रेस सभापति देउवाले ठूलो आरोप खेपे । साढे तीन वर्षसम्म कांग्रेस प्रतिपक्षमै बस्यो । कम्युस्टि पार्टीहरूले सरकार चलाए । तर झन्डै दुई तिहाइको बहुमतको सरकार केपी ओलीले चलाउन सकेनन् ।

एमाले विभाजन भयो । एमाले माओवादी सरकार ढल्यो । कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्यो । सोही कारणले स्थानीय, प्रदेश र संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । तीनवटै निर्वाचनमा कांग्रेस पुनः पहिलो दलको रूपमा स्थापित भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन सय २९ तह जितेर ठूलो दल बनेको थियो ।

मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रदेशमा कांग्रेसले एक सय ११ सिट जितेको छ । चारवटा प्रदेशमा ठूलो दल बन्न् सफल भएको छ । संघतर्फ प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट जितेर कांग्रेस ठूलो दल बनेको छ । अब प्रदेश र संघमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ ।

त्यति मात्र होइन, संसदमा रहेको कम्युनिस्ट वर्चश्व पनि यसपटकबाट समाप्त भएको छ । अहिले संसदमा कम्युनिस्ट इतर शक्ति बलियो भएका छन् । कांग्रेस, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी र स्वतन्त्र एक हुने हो भने वामपन्थीविनैको सरकार बन्ने अवस्था छ । कम्युनिस्ट पार्टीलाई तितरवितर पारेर लोकतान्त्रिक शक्ति बलियो बनाउनु पनि सामान्य विषय होइन ।

यसको श्रेय प्रधानमन्त्री देउवालाई नै जान्छ । सोही कारण कांग्रेसमा फेरि एकपटक देउवा निर्विकल्प बनेका हुन् । फेरि पनि प्रधानमन्त्रीका लागि उनको दाबेदारी बलियो बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *