रिबन

बीपीको चिन्तनलाई ‘राजाको पाउ मोल्न’ प्रयोग गर्ने अधिकार मनिषालाई कसले दियो ?

काठमाडौं । मुम्बईमा सिनेमाको काम छाडेर अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छन् । काठमाडौं आएलगत्तै शुक्रबार बसन्तपुरमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गरिन् । उनी राजावादी विचार बोक्ने राप्रपाको चुनावी प्रचारमा सामेल भएकी हुन् । राप्रपामा अभिनेत्री रेखा थापा त मोरङ ३ बाट उम्मेदवार बनेकी छन् । हिजोसम्म रेखा थिइन्, अब मनिषा थपिएकी छन् ।

बसन्तपुरमा आयोजित सभामा उनले कांग्रेसले बिर्सेका बीपी कोइरालालाई राजेन्द्र लिङ्देनले सम्झेको भन्दै धन्यवाद दिइन् । मनिषा कोइराला आफ्नो विचार र मतका लागि स्वतन्त्र छिन्। उनको विचार राख्ने स्वतन्त्रताप्रति सबैको सम्मान छ। तर बीपी कोइराला र महेन्द्र शाहले सहकार्यको अवसर पाएनन्, अब लिङ्देनले त्यो सपना पूरा गरुन् भन्नु चाहिँ बीपीको संघर्षप्रतिको चरम् अपमान हो। परिवर्तनका उपलब्धिविरुद्ध उभिएर बीपीको सम्मान हुँदैन।

मनिषा बीपी कोइरालाले ज्यान र भविष्य दाउमा राखेर ल्याएको प्रजातन्त्रको ‘मयलपोस’ खाएर हुर्केकी हुन् । उनलाई कुन दलमा टाँसिने भन्ने पूरै छुट छ । तर, बीपीको चिन्तनलाई ‘राजाको पाउ मोल्न’ प्रयोग गर्ने अधिकार उनलाई छैन । बीपी कोइराला कांग्रेसका संस्थापक हुन् । उनकै विचार र आदर्शमा कांग्रेस हुर्के बढेको छ । तर, अहिले मनिषाले बीपीको विचार राप्रपाले लिएको भन्दै हिँड्नु उचित हुन्न ।

बीपीका पुत्र प्रकाश कोइराला रौतहटमा कांग्रेसको उम्मेदवार बन्दा प्रचारमा हिँड्दा मनिषाको कत्रो इज्जत र प्रतिष्ठा थियो । अहिले राजावादीको झुन्डमा मनिषा बसेपछि उनको दुर्नाम मात्र भएको छ । इज्जत घटेको मात्र छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *