१. आम निर्वाचन संघारमै आइसक्यो । एकैपटक संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा र ७ ओटै प्रदेश सभाको निर्वाचन गर्नका लागि मंसिर ४ गते तोकिई सकेको छ र त्यसका लागि सम्पूर्ण तयारी हुँदैछ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक नामहरुसमेत निर्वाचन आयोगले प्रकाशित गरिसकेको र प्रतिनिधि सभाका उम्मेदवारहरुलाई निर्वाचन चिन्हसमेत दिइसकेको अवस्था छ ।
२. निर्वाचन चिन्ह पाएका उम्मेदवारहरु घर गाउँमा, टोलमा मत माग्नका लागि जान थालेका छन् एकातिर भने दलहरु,स्वतन्त्र उम्मेदवारहरुसमेत आफ्ना प्रभाव भएका र प्रभाव पार्ने ठाउँमा जान थालेका छन् । आफूलाई जनतासमक्ष चिनाउने र आफ्ना बाचा लिएर जनतासमक्ष जाने भनेकै यही बेलामा हो । त्यसैले निर्वाचनभन्दा अलि पहिले नै उम्मेदवारीको मनोनयन पत्र दाखिला गरिन्छ र निर्वाचन चिन्ह दिइन्छ । वहुदलीय व्यवस्थामा दलबाट उठाइएका उम्मेदवारहरुको निर्वाचन चिन्ह दलको छनोटमा हुन्छ भने स्वतन्त्ररुपमा जनताको सेवा गर्ने अठोट लिएर उम्मेदवार हुनेले निर्वाचन आयोगले राखेका चिन्हमध्येबाट छान्न पाउँछन् । हाम्रो अहिलेसम्मको परिपाटीमा मतपत्रमा उम्मेदवारको नाम राखिँदैन तर ृउम्मेदवारले छानेको निर्वाचन चिन्हलाई सोही व्यक्ति ठानी मत दिने गरिन्छ । असोज २६ गते नै चिन्ह पाएकाहरु भने तिहारको निहुँमा घरगाउँटोल पुग्न थालेका छन् ।
३.उम्मेदवारहरुका बारेमा जति चर्चा हुनुपथ्र्यो , मनोनयन पत्र दाखिला गर्नुभन्दा पहिले नै भयो र दलका उम्मेदवारहरुले जनताको सेवा गर्न सकेनन् भन्नेहरुले स्वतन्त्र उम्मेदवारका रुपमा जनताका समक्ष जाने विचार राखेका देखिन्छन् । प्रत्येक आम निर्वाचन र स्थानीय निर्वाचनमा केही न केही नयाँ उदाहरण पाइन्छ र त्यसैको नजिर लिएर सबै दलहरु र स्वतन्त्रहरुले आफ्ना निर्वाचन रणनीति तयार गरेका हुन्छन् । यसपटक प्रत्यक्षमा उठेका उम्मेदवारहरुको कमै चर्चा भएको छ तर समानुपातिकतर्फको नकारात्मक चर्चा चलेको देखिन्छ । अझ परिवारवादका रुपमा उम्मेदवारहरुको चयनले भने यसपटक बढी नै चर्चा पाएको छ । त्यसो त परिवारका दाजुभाइ नै निर्वाचनमा जितेका उदाहरणहरु पहिले पनि थिए र अहिले पनि होलान् , हुँदै जालान् । वहुदलीय परम्परामा जनताका मतले जित्ने हुँदा किन त्यस्ता उम्मेदवारहरुले जित्छन् भन्ने सामाजिक मनोविज्ञानको विश्लेषण पनि हुँदैजाला । भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि उनका छोरा राजीव गान्धीलाई प्रधानमन्त्रीको कुर्सीमा राखिएको थियो र त्यसपछिको आम निर्वाचनमा राजीव गान्धीको पार्टीले अत्यधिक वहुमतले संसदमा प्रतिनिधित्व गरेको थियो । तर त्यस्तै त्यस्तै अतीतका कारणले होला, आज फेरि कसरी सत्तामा पुनरागमन गर्ने भन्ने ठुलो समस्या भारतीय कांग्रेसलाई परेको छ । जनता एकपटक गुमराहमा पर्लान्, दुईपटक गुमराहमा पर्लान् तर सधैँ ठगिँदैनन् भन्ने कुरा विश्वका अन्य प्रजातान्त्रिक देशहरुको उदाहरणले पनि देखाउँछ । सबै दलहरुमा जनताको विभिन्न पक्षहरुको प्रतिनिधित्वमार्फत् सत्तामा अपनत्व दिलाउने सद्प्रयासभन्दा सत्तामा नागफणी मारेर बसेकाहरुले कसरी कब्जामा राखेर आफ्नो वर्चस्व कायम राख्न सकिन्छ भन्नेमात्र देखिन्छ भन्ने राजनीतिक पर्यवेक्षकहरुको धारणा छ ।
४. कुरो सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन खर्चको पनि हो । निर्वाचनमा मत किनबेच हुन्छ, पैसाले मत किनिन्छ र हार्नेले जित्छ, जित्नेले हार्छ पैसाका कारणले भन्ने गुनासो मतदाताहरुकै छ । सचेत मतदाताहरुले पक्कै पनि मत किनबेच गरेनन् होला, तर सबै मतदाताहरु सचेत नै हुन्छन् भन्ने मान्ने हो भने कसले भोट बेच्यो होला, कसले किन्ने दुष्प्रयास ग¥यो होला ? प्रश्न अनुसन्धानको नै हो तर यसको उत्तर पनि सहज छ या छैन । छ यसकारणले पैसावाला राजनीतिको किनबेचमा नै लागेको देखिन्छ । पैसाले समानुपातिकतर्फ मात्र होइन , प्रत्यक्ष तर्फ पनि उम्मेदवार हुन पाएको देखिन्छ र उसले करोडौँ खर्च गरेर जितेको सुनिन्छ, देखिन्छ । यसमा निर्वाचन आयोगको पनि शंका रहेको देखिन्छ र त आयोगले खर्चको सीमा तोकेको छ । यसो हेर्दा अहिले तोकेको सीमा नै हाम्रो जस्तो न्यूनआय भएको देशमा धेरै हो , पहिले नै तोकेको रकम बढी नै थियो । अहिले २५लाखदेखि ३३लाखसम्मको सीमामा खर्च गर्न पाइने भनिएको छ । चासो अरु कुराको होइन, मतदाताको सार्वभौम अधिकारको अस्मितामाथि पैसाको रबाफले किन्न नसकोस् भन्ने आशय होला तर मतदाताले कसरी मतदान गर्दा मत सुरक्षित पनि हुने, किनबेच पनि नहुने र आवश्यक व्यक्ति वा दलले जित्ने अवस्था होला ? यसबारेमा सामाजिक मनोविज्ञानको पाटो पनि छ, मतदाता शिक्षाको कुरा पनि छ, दलहरुमा प्रजातन्त्रप्रतिको निष्ठाको कुरा पनि छ, निर्वाचनको नैतिकताको पनि कुरा छ । अझ उम्मेदवारको छनोटको प्रश्न अहम् देखिन्छ । धेरै सक्षम व्यक्तिहरु उम्मेदवार हुनका लागि हच्किएको पाइन्छ किनभने निर्वाचनमा हुने खर्चको जोहो गर्न नसकेका कारणले । अनि त्यहाँ पैसाले राजनीतिलाई आफ्नो कब्जामा पार्नेहरु र तिनैले भोलि राजनीतिको केन्द्रीय ठाउँमा गएर आफ्ना स्वार्थअनुरुपका ऐन, नियम बनाउने काम भएको पाइन्छ । अपराधीहरुको बोलबाला हुने अवस्थामा उम्मेदवार हुन चाहने असल व्यक्तिलाई पाखा पारिने चलन सबै जसो दलहरुमा देखिनाले स्वतन्त्र उम्मेदवारहरुको बाढी लाग्न थालेको छ र जनतालाई विकल्प हुन सक्ने देखिन्छ तर जुन सत्ताको हामीले अभ्यास गरेका छौँ, त्यहाँ दलको वर्चस्व हुन्छ, बढी मत प्राप्त गर्नेले प्रधानमन्त्री पाउँछ र वहुमत रहुन्जेलसम्ममात्र सत्तामा बस्न पाउँछ । संसारका सबैभन्दा राम्रो व्यवस्थालाई कुरुप बनाएर किनबेचको राजनीति बनाएकाले होला, निर्वाचन आयोगले पनि निर्वाचन खर्चको सीमा तोकेको होला, निर्वाचन खर्चको हिसाब किताब मागेको होला । बरु दण्डतिर्न तयार हुनेरहेछन् तर बेलामा खर्चको हिसाब दिन नचाहने रहेछन् उम्मेदवारहरु, दलहरु ।
५. जे भए पनि मतदाताहरु सचेत भएमा यसो पनि भनेको सुनियो, पैसा एउटाको खाने,भोट अर्कैलाई दिने । यो पनि नैतिक कुरा भएन । किन पैसा चाहियो ? संगठन अनि भावी योजनाका आधारमा निर्वाचन जित्ने परम्परा पो बसाउने ? सेवाको पो प्रत्याभूति दिने ? नो भोटको सिद्धान्तमो लागू गर्ने? जनताको सार्वभौम शक्तिको कसरी सदुपयोग गर्ने भन्नेबारेमा संसदमा छलफल गर्ने र निर्वाचनलाई स्वच्छ र धाँधलीरहित अनि सार्थक बनाई प्रजातन्त्रको रक्षा गर्ने पो त ।
६. र अन्त्यमा, शताब्दी पुरुष, शब्दसारथि, संस्कृतिविद् नेपाली साहित्य, संस्कृतिका अथक साधक तथा पथप्रदर्शक सत्यमोहन जोशीको १०३ वर्षको उमेर २०७९साल असोज ३० गते विहान ७ :०९ बजे ललितपुरस्थित किस्ट अस्पतालमा निधन भयो । निमोनिया, डेँगु आदि रोगले ग्रस्त पारेर स्वास्थ्य अवस्था नाजुक भएको केही दिन भइसकेको थियो । नेपालले उमेरका हिसाबले पनि , क्षमताको हिसाबले पनि र अथक साधकका हिसाबले पनि अनि बेदाग व्यक्तित्वका कारणले पनि उहाँको कमी नेपाली समाजलाई अपूरणीय क्षति रहेको छ । उहाँले आफू कसरी सयवर्षभन्दा पनि बढी बाँचेँ हुँला भनेर अनुसन्धान गर्नका लागि किस्ट कलेजको शिक्षण अस्पतालका अनुसन्धाताहरुका लागि आफ्नो शरीर दान दिनु भएको रहेछ दुई वर्ष अघि नै । एउटा साहित्य, कृषि, संस्कृति र समाजसेवाका अथक साधकको निधनप्रति हार्दिक शब्द सुमन चढाउँदै आत्माको चीर शान्तिको कामना गर्दछौँ र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । उहाँको आत्माले शान्ति पाओस् ।




