रिबन

बागमती प्रदेशमै एमाले छैन ढुक्क, यस्तो छ चुनावी आकलन

अबको ३४ दिनमा नेपालमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदाता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै अबको काम भने मंसिर ४ गते मतदान गर्न मात्र बाँकी रह्यो । प्रमुख दलहरू यतिबेला तीव्र चुनावी अभियानमा केन्द्रित भएका छन् ।

नेपाली कांग्रेस सत्तारुढ गठबन्धनका साथ चुनावमा होमिएको छ । एक्लै चुनावमा जान्छौं भन्दै आएको एमाले पनि अन्ततः राजावादीहरूलाई दायाँबायाँ राखेर मैदानमा उत्रिएको छ । सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् । लोसपाले सात ठाउँमा सत्तारुढ गठबन्धनसँग तालमेल गरेको छ । विपक्षी महागठबन्धनमा एमाले, जसपा, राप्रपा, राप्रपा नेपाल, हृदयेश त्रिपाठीलगायतको समूह सामेल छ ।

यसपटक दुई गठबन्धन भए पनि ०७४ सालको जस्तो ‘एक्सट्रिम’ भने देखिएको छैन । त्यतिबेला एमाले र माओवादीबीच वाम तालमेल भएको थियो । कांग्रेस नेतृत्वको सरकारले चुनाव गराए पनि कम्युनिस्टहरूकै हाईहाई थियो । वाम गठबन्धनले दुई तिहाइ बहुमत माग्दै जनतासँग भोट असुले । जनताले पनि पत्याइदिए । तर, कम्युनिस्टको नेचर न हो । शान्ति र स्थायित्वका लागि जनतालाई ढाँटेर बटुलेको मतमा साढे तीन वर्ष रजगज गरेपछि एमाले अध्यक्ष केपी ओली निकै हौसिए ।

उनले आफ्नै पार्टी साविकको नेकपाका शीर्ष नेतालाई टेर्न छाडे । आफू निकटलाई च्यापेर इतरलाई किनारा लगाउन थाले ।
मृगौलाको प्रत्यारोपण गरेकाले उनको आधा समय अस्पताल र आधा समय बालुवाटारमै बित्यो । संसद् बैठकमा विरलै उपस्थित हुन्थे । जुँगाको लडाइँकै कारण अन्ततः ओली नेतृत्वको सरकार साढे तीन वर्षमै ढल्यो । पाँच वर्षका लागि प्रतिपक्षको म्यान्डेट पाएको कांग्रेस फेरि सरकारको नेतृत्व लिन बाध्य भयो । ओलीलाई छाडेर सडकमा आएका प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव, चित्रबहादुर केसीहरूको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । अहिले देउवा सरकारले नै चुनाव गराइरहेको छ ।

पाँच वर्षअघि एमालेको जस्तो दबदबा थियो, अहिले त्यो हराएको छ । ओलीको राष्ट्रवादी छवि स्खलित भएको छ । आफ्नै पार्टी विभाजन भएपछि ओलीको साख नराम्ररी गुमेको छ । हिजोसम्म एमालेको गढ र किल्ला भनिएका जिल्ला तोडिएका छन् । भत्किएका छन् । कतिपय ठाउँमा कांग्रेसले आफ्नो विरासत फेरि फर्काएको छ । स्थानीय निर्वाचनको परिणामले नै त्यो पुष्टि गरिसकेको छ । ओलीकै सन्कीपाराको शासकीय शैलीका कारण स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हाबी भएका हुन् । स्वतन्त्रकै कारण आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कस्ता कस्ता हस्तीहरूको हरिबिजोग हुने हो ? त्यो अहिले नै अनुमान गर्न गाह्रो छ ।

तर एमालेकै गढ मानिने बागमती प्रदेश भने अहिले अन्य दलले कब्जा गरेका छन् । विगतमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, मकवानपुर र चितवनमा एमालेकै वर्चश्व थियो । अहिले त्यो वर्चश्व ढलेको छ । अहिलेसम्मको प्रारम्भिक सर्वेक्षणमा एमाले आफैंले दोलखा, काभ्रे, भक्तपुरलाई जितको सूची राखेको छैन । ललितपुर र नुवाकोट त पर्ने कुरै भएन । काठमाडौंमा माओवादी र एकीकृत समाजवादीले पाएका सिटमा जित्ने एमालेको दाउ छ । तर कांग्रेस उम्मेदवार भएका ठाउँमा एमालेको केही सीप नचल्ने देखिएको छ ।

सिन्धुपाल्चोकको १ र २ दुवै क्षेत्र यसपटक सत्तारुढ गठबन्धनले जित्ने अनुमान गरिएको छ । एमालेले १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङ उठाएको छ । कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको राप र ताप शेरबहादुरले झेल्न नसक्ने अनुमान गरिएको छ । १ मा पनि माओवादीका माधव सापकोटा बलिया देखिएका छन् ।
दोलखामा माओवादीका गंगाराम कार्की, रामेछापमा कांग्रेसका कान्छाराम तामाङ, सिन्धुली १ मा कांग्रेसका श्याम घिमिरे, २ मा माओवादीका राजन दाहाल, काभ्रे १ मा माओवादीका सूर्यमान दोङ र २ मा कांग्रेसका शिव हुमागाई एमाले उम्मेदवारको तुलनामा बलिया देखिएका छन् ।

ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा, २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादीकी पम्फा भुसालको मत एमालेको भन्दा धेरै रहेको स्थानीय तहको मत परिणामले देखाएको छ । भक्तपुर १ नेमकिपा र २ मा कांग्रेसका दु्र्लभ थापाले एमालेका महेश बस्नेतलाई पराजित गर्ने विश्लेषण गर्न थालिएको छ । रसुवा, नुवाकोट, धादिङ र मकवानपुरमा त एमालेको हरिविजोग नै हुने भएको छ । एमालेलाई चितवन २ मा कृष्णभक्त पोखरेलमाथि अलिकति विश्वास भए पनि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको लोकप्रियता बढ्दै गएको छ । १ मा कांग्रेसका बागी राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएकाले विश्वनाथ पौडेललाई निकै सहज भएको छ । ३ मा एमालेले राम्रोसँग साथ दिएमा कांग्रेसका बागी दिनेश कोइरालाले जित्ने देखिएको छ ।

काठमाडौमा भने एमालेले २, ८, ५ र ९ मा जित्न सकिने प्रक्षेपण गरेको छ । १, ३, ४, ६ र १० भने कांग्रेस उम्मेदवार अगाडि देखिएका छन् । यद्यपि १० मा माओवादीले बागी उम्मेदवार अञ्जना विशंखेलाई अघि सारेकाले कांग्रेस नेता कार्यकर्ता चिन्तित बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *