काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिक तर्फको बन्द सूची सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थपलियाले राजनीतिक दलहरूले आज सोमबार अपरान्ह ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिक तर्फको बन्द सूची बुझाइसक्न निर्देशन दिएका हुन्।
निर्वाचनका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे। राजनीतिक दलहरूले आजै सो सूची बुझाउन नसके मंगलबार बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताए।
गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरूले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उनको भनाइ छ।
‘विगतको अनुभवलाई हेर्दा त भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौं। तर, हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाहिँ लोकतन्त्रलाई सुदृढीकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुन दिँदैनौँ’ उनले भने, ‘आयोग परिसर छिरेका सबै राजनीतिक दलहरूले यही बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ। हामीले आज यति बजेभित्र भनेर तोकिसकेका छैनौं। सबैले पाँच बजेभित्र उहाँहरूले आइपुगेर सबै काम थालेर आज हुँदै सकिदिए हुन्थ्यो भन्ने हाम्रो भनाई छ।’
निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरूलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नामहरू सच्याउनका लागि पत्राचार गर्ने र १६ गते भित्र सच्याएर ल्याउन समय दिनेछ। त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
उनका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ। सार्वजनिक भएका ती नामावली अनुसार दलहरूले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरू निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ।
‘ऐन, कानुनमा भएको व्यवस्था अनुसार उहाँहरूले पेश गर्नु हुन्छ। त्यसपछि त्यसलाई हामीले हेर्छौ। हेरेर हाम्रो नियमावलीले के भन्छ भने ९ गतेसम्ममा त्यहाँ कुनै नाम नै परिवर्तन गर्नुपर्ने भएको छ भने पनि सो समेत गर्न समय दिनुपर्छ भन्ने व्यवस्था भएकाले अव यति नै आउँछ र यति नै गर्न सकिन्छ भन्ने कुरा छैन । पहिला हामीले सबै डकुमेन्टहरू हेरेर तपाईँहरूको आवश्यक संशोधन, परिमार्जन गरेर त्रुटी सच्याउन तथा संशोधन परिमार्जन गर्न समय दिइनेछ भनेर हामीले त्यही लेखेर समय दिन्छौं’ उनले भने।
‘अब १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ। त्यो विवरणमा चाँही कुनै पनि हालतमा परिवर्तन हुँदैन। त्यसलाई आयोगले २२ गते सूचना जारी गरेर सार्वजनिक गर्छ। त्यो भन्दा अघि हामी हाम्रो गोपनियता कायम राख्छौँ। २२ गते बेलुकासम्म सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ। सार्वजनिक गरिसकेपछि त्यो नाम तदनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना गरिसकेपछि त्यही नामबाट क्रमशः उम्मेदवारहरू चयन हुनेछन्।’
निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचन सम्बन्धि सबै कामहरू अघि बढाउन प्रतिवद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ।




