राजनीति

सिन्धुपाल्चोक – १ यस कारण कांग्रेसले छाड्न हुँदैन

काठमाडौं । अहिले पाँचदलीय गठबन्धनमा केही निर्वाचन क्षेत्रलाई लिएर माथापच्ची चलिरहेको छ । सिन्धुपाल्चोक १, ललितपुर ३, तनहुँ १, झापा १, सोलुखम्बु, जाजरकोट, कालिकोट, गोरखा १, नुवाकोट १ मा पनि कांग्रेसले दाबी गरेको छ ।

डोटी १ मा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले रहे पनि कांग्रेस नेता वीरबहादुर बलायरले दाबी गरिरहेका छन् । रौतहट १ मा माधव नेपाललाई छाडेको खण्डमा कांग्रेसले काठमाडौं २ मा दाबी गर्ने छ । नेपाली कांग्रेसका लागि यी चुनावी क्षेत्र निकै महत्वपूर्ण छन् । ती क्षेत्र उसलाई छाड्नु भनेको चुनावी धक्का लाग्नु जत्तिकै हुनसक्ने देखिएपछि कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच दुवै क्षेत्रलाई लिएर रस्साकस्सी देखिएको छ ।

त्यसमा पनि सिन्धुपाल्चोक १ मा सबैको ध्यान गएको छ । अघिल्लो निर्वाचनमा वाम तालमेल भएका कारण माओवादीका अग्निप्रसाद सापकोटाले जितेका थिए । यसपटक पनि माओवादीले सो क्षेत्र आफूलाई छाड्न दबाब दिँदै आएको छ । तर, कांग्रेस सिन्धुपाल्चोकले भने यसमा आपत्ति जनाएको छ । कांग्रेसमा सिन्धुपाल्चोक १ छाड्न नहुने आवाज बढ्दै गएको छ ।

सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेतले केही दिनअघि बालुवाटार पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालाई सिन्धुपाल्चोक १ नछाड्न नहुने बताइसकेका छन् । सिन्धुपाल्चोक १ मा हालै सम्पन्न निर्वाचनमा माओवादीको मत १७ हजार मात्र छ । जबकि कांग्रेसले ३४ हजार मत प्राप्त गरेको छ । एमालेको २६ हजार मत छ । ठ्याक्कै दोब्बर मत भएको कांग्रेसले माओवादीलाई सिट छाड्नु भनेको कांग्रेसको संगठन सिध्याउने प्रपञ्च रहेको भन्दै असन्तुष्टि बढेको छ । सो क्षेत्रमा नेता बस्नेत यसपटक आफैं चुनावमा उठ्ने तयारीमा लागेका छन् ।

नेता बस्नेतले गएको पाँच वर्षमा सो निर्वाचन क्षेत्रमा कांग्रेसको संगठन विस्तारमा ठूलो योगदान गरेका छन् । जुरे पहिरो पीडितलाई राहत, विकासका पूर्वाधार, भूकम्पपीडितलाई राहत र सहयोग तथा कोरोनाकालमा उनले जिल्लाको स्वास्थ्य क्षेत्रमा निकै काम गरेका छन् । यसकारण पनि कांग्रेसका शीर्ष नेता बस्नेतप्रति सन्तुष्ट छन् । त्यसैले अहिले सभामुख अग्निप्रसाद सापकोटालाई काभ्रे १ मा उठाउने विषयमा माओवादी केन्द्रमा छलफल सुरु भएको छ । सिन्धुपाल्चोक १ कांग्रेसले लिएमा २ नम्बर क्षेत्र माओवादीलाई छाड्ने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *