रिबन

मुख्य समाचार : प्रधानन्यायाधीश सर्वोच्च फर्कने तयारी गरेपछि दिनभर वालुवाटार र रामशाहपथमा तनाव

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ । प्रहरी प्रधान कार्यालयले निलम्बित प्रधानन्यायाधीश जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो । प्रहरी प्रधान कार्यालयले जबराको अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ । आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगलेगरेको विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो । संविधानप्रदत्ता वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको राज्यले सम्मान गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपति कार्यालयमा निम्तो पठाएकी छन् । सरकारले प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने राणालाई प्रधानन्यायाधीशकै हैसियतमा निम्तो पठाएकी हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन् । आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव पारित नभएपछि सकिएको तर्क गरे । उले सत्ता पक्षले बेलैमा प्रक्रिया अगाडि नबढाएर सफाइ दिएको आरोप लगाए ।

निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट निस्कन नदिइएको विषय अस्वीकार गरेका छन् । आज (आइतबार) सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एसएसपी कार्कीले सुरक्षाको विषयले मात्र प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको स्पष्ट पारेका छन् । सुरक्षाका कुनै विषय नउठोस् भनेर अन्य दिनभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिएकी छन् । तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित २०३ र इन्द्रकुमार लिम्बूसहित ४७८ कैदीको भुक्तान हुन बाँकी सजाय असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिएकी हुन् ।

नेकपा एमाले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिध र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो । नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए ।

उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको हो । न्यायाधिश दीपेन्द्रबहादुर बमको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आइतबार सेयर बजार परिसूचक नेप्सेमा झण्डै ३४ अंकको गिरावट आएको छ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा यस दिन ३३.९७ अंकले गिरावट आउँदै १८७६.४१ विन्दुमा झरेको हो । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.०४ अंकले घट्दै ३६५.८६ विन्दुमा ओर्लिएको छ ।

अविरल वर्षाका कारण आएको बाढी र त्यसबाट प्रभावित भएका पाकिस्तानको सिन्ध प्रान्तका ९० हजार जनालाई एकैदिन जलजन्य रोगको उपचार गरिएको छ । प्रान्तीय स्वास्थ्य विभागका अनुसार गत बिहीबार बाढी प्रभावित ९२ हजार सात सय ९७ नागरिकलाई जलजन्य सङ्क्रामक रोगबाट जोगाउन चिकित्सासेवा प्रदान गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *