काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोनाबारे राहतको खबर दिएको छ । स्वास्थ्य एजेन्सीका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले महामारीको अन्त्य नजिकै रहेको आफूले देखेको बताएका छन् ।
नोभेम्बर २०१९ मा चीनमा कोरोनाको पहिलो केस आएको थियो, त्यसपछि मार्च २०२० मा यसलाई महामारी घोषणा गरिएको थियो। जसका कारण विश्वभर ६५ लाखको मृत्यु भइसकेको छ ।
गेब्रेयससले अहिले विश्व राम्रो अवस्थामा रहेको बताए । महामारी सुरु भएदेखि अहिलेसम्म कोरोनाका केसहरू उकालो लागिरहेका छन् । तर, सेप्टेम्बर महिनामा भने भारी गिरावट आएको छ । सेप्टेम्बर ५ र ११ बीच, बिरामीहरूमा २८ प्रतिशतको गिरावट आएको छ, जबकि अघिल्लो हप्ता यो संख्या १२ प्रतिशत थियो ।
विश्वले यस अवसरको सदुपयोग गर्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको विश्वास छ । यस समयमा, कोविड प्रोटोकल कडाईका साथ पालना गर्नुपर्छ । यदि हामीले अहिले नै यसो गरेनौं भने, कोरोनाको नयाँ रूपहरू सिर्जना हुने जोखिम हुन सक्छ । यसले एकपटक फेरि संक्रमणको दर बढाउनेछ र हामीलाई महामारीबाट बाहिर आउन अझै समय लाग्नेछ ।
कोरोना भाइरसविरुद्धको लडाई जित्नका लागि डब्लुएचओले सबै देशलाई ६ वटा नीति अपनाउन सुझाव दिएको छ । स्वास्थ्य निकायले शतप्रतिशत खोप लगाउन आग्रह गरेको छ । यो विशेष गरी ती व्यक्तिहरूको लागि हो जो संक्रमणको उच्च जोखिममा छन् । जसमा स्वास्थ्यकर्मीदेखि वृद्धवृद्धासम्म पर्छन् । यससँगै परीक्षण र जिनोम सिक्वेन्सिङमा पनि केन्द्रित हुने कुरा भएको छ ।
महामारीको २.५ वर्षमा विश्वभर कोरोनाका ६० करोड ५० लाख केस रिपोर्ट गरिएका छन् । यस वर्षको मेमा डब्ल्यूएचओले एक अनुसन्धान प्रकाशित गर्यो, जसमा भनिएको छ कि यदि सबै प्रत्यक्ष र अप्रत्यक्ष मृत्युहरू जोडिएमा, २०२० र २०२१ मा विश्वमा १ करोड ५० लाख मानिसले ज्यान गुमाएका छन् । यो सार्वजनिक तथ्यांकभन्दा ३ गुणा बढी हो ।




