अनकन्टार हुँदै रात छिप्पिन्छ
मध्यान्ह दिन भञ्ज्याङ बोकेर निस्कन्छ
थकित जिन्दगानी मान्छेकै त हो
विरक्तिन्छ समयकै धरातलमा
र मान्छे समयकै खेल भएर जिस्किन्छ ।
उमेरले न रात न दिन भन्छ
समयको आदेश पालना गर्नै नभ्याई
मान्छेको जीवन अजनबी भएर भड्किन्छ
बुझ्छ या बुझ्दैन
कि बुझ पचाउँछ मान्छे ?
एकाएकअझै अग्लिएझैँ ठान्छ
नअग्लिएपछि बेग्लिएझैँ मान्छ ।
भ्याउदैन राख्न समयको हिसाब–किताब
समयकै लगामसित डोरिएर तानिन्छ
कुनै वेला बाैँडाईझैँ पौडिन्छ
कहिले हतारिंदै दौडिन्छ
जोहो गर्छ या गर्दैन समयले कसैलाई
उसकै गोहोमा हिंड्दा हिड्दै बौरिन्छ
कुनै वेला तछारिन्छ ,कुनै समय पछारिन्छ
र आखिर नामेट भएर निखारिन्छ ।
समयसीमा कटाउदैन आयुले
मान्छेले अचेत्नन सकेर समय, आयु घटाइरहन्छ
आफ्नै हो आयु
उसैले मान्छेलाई घच्घच्याइरहन्छ
उर्लिरहन्छन् आकाङ्क्षाहरू
तृष्णा वितृष्णा खर्किरहन्छन् पर्खिरहन्छन्
लुकेका मान्छेभित्रै छन् अहम् उनै चर्किरहन्छन् ।
भत्किरहन्छ अनुमान, झस्किरहन्छ बुद्घिमान्
भुइँ न भारको मानसिकता बटुलेर जलन
बस्, मान्छे नै त हुन् फक्रिरहेझैँ मान्छन्
तर मुर्झाएर धेरैजसो ढक्रिरहन्छन् ।
०ंं……………..०………………०
मादी न.पा.– ६, सङ्खुवासभा
हालःलोकन्थली, भक्तपुर




