घडेरी अझै दोबरी हुन् बगैँचा
पुनर्जन्मको चाह औडाह यौटा ।
खुबै वैभवी मोह कौसी बहार
सधैँ डाह दिन्छन् कि हुन्छन् सहारा ? ।१।
भयो सम्झिदैनौ अझै जोडिरा’छौ
पुगेकै भएनौ मरेतुल्य भा’छौ ।
न ता भ्याउँदैछौ कतै सास फेर्न
उठी भ्याउदैनौ बसी बात गर्न ।२।
जहाँ जोड जे जे थपी साँच जे जे
नपुग्दै नपुग्ने रची राख जे जे
न जान्छौ लिंदै साथ हुन्छन् न कोही
दिनै अन्तिमै त्यो ठिही बन्छ कोही ।३।
मनैमा छ चौ चौ गनेकै छ दाम
न त्यो भोकतिर्खा हतारै छ काम
मधौरो छ धोको कमायौ कि पोको ?
अझै छौ र रित्तै ? भरेनौ र डोको ?।४।
लिई आउदैनन् दिने खाम बोकी
दिनै भ्याउदैनन् कुनै दाम ठेकी ।
फकायो र कैल्यै? छकायो जहिल्यै
पुगेकै थिएन लछा–यो पहिल्यै ।५।
कहाँ पुग्छ जाने ? न फर्केर आयो !
फलानो चिनेको जुनी भन्न पायो ।
हराए सबै बाबु बाजे बराजु
भराए लगेनन् तुलो मानु पाथी ।६।
कथा सुन्न भ्याए पुनर्जन्म पाए
व्यथा सल्टिनेथ्यो जुनी जान्न आए ।
फुरोस् त्यो उपल्लो सकल्लो कहानी
जुरोस् शालिनी शाल्मली जिन्दगानी ! ।७।
०…………………….०………………….०
मादी न.पा.–६, सङ्खुवासभा
हालःलोकन्थली, भक्तपुर




