विचार

गठबन्धनको क्रेटमा कुहिएका अण्डा बिक्दैन्

राजनीतिका कुटिल खेलाडी प्रचण्डले अघिल्लो पटकको स्थानीय निर्वाचनमा गठवन्धनको कार्ड तेर्स्याएर कांग्रेसको खोकिलामा आफ्नो गुम्न आटेको शाख रक्षा गरेसँगै गठवन्धन संस्कृतिले विशाल रुप धारण गरेर सत्ताकब्जादेखि सर्वसत्तावादी सत्ता सञ्चालनको तहसम्म यसलाई पुर्याएको छ । एकता र विग्रहमा पनि यो संस्कृतिले निकै उथलपुथल ल्याईसकेको छ ।

माओवादी पार्टीले आफ्नो अस्तित्व सुरक्षार्थ अपनाएको यो रणनीति अहिले राष्ट्रिय राजनीतिलाई टोक्नु न बोक्नु भएको छ । अघिल्लो आम निर्वाचनमा यो शासन पद्धतिको जनक नेपाली कांग्रेसको अस्तित्व नै मेटाईदिन खुब रौशिएका केपी शर्मा ओलीका लागि यो गठवन्धन भन्ने शब्द नै अपवित्र लागिरहेको छ । यता बामपन्थीहरुमा देखिएको चरम सांस्कृतिक बिचलन,शासकीय विकृति र भष्ट्रचरित्रका कारण नेपाली कांग्रेस एक्लै चुनावमा जादा पनि सबै भन्दा ठूलो दल बन्ने सम्भावना छर्लङ्गै हुदाहँदै पनि गठवन्धनभित्रै बाधिनु पर्ने परिस्थिति एमालेका उत्ताउला व्यबहारले गर्दा निर्माण भएको हो । 

अब नाफा घाटा जे–जे भएनि यो गठबन्धन संस्कृति नेपाली राजनीतिको चीरकालसम्म रहने देखिन्छ । कांग्रेसले पनि काम्लोमा सातु मुछेपछि खान हिचकिचाउनु हुन्न । यसका लागि भागबन्डाको वैज्ञानिक विधि खोजी गरि सबैलाई चित्त वुझाउने उपाय खोज्नु पर्छ ।

कांग्रेसले आफ्नो विधानमा पनि जिल्लाको भूमिकालाई विशेष महत्व दिएको हुदा प्रत्येक जिल्लामा कम्तिमा १-१ संघीय क्षेत्र( ७७ वटा ) र अन्य थप गरि कम्तिमा एक सय संघीय निर्वाचन क्षेत्र शुनिश्चित गरेर भागवन्डा मिलाउनु पर्छ ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले पनि गठबन्धन भित्रको आधार भोट नेपाली कांग्रेससँग भएको पुष्टि गरेको छ । कुनै पनि जिल्ला नटुट्ने र नछुट्ने हुदा नेता व्यवस्थापन र प्रतिस्पर्धाका लागि निकै सजिलो हुने छ । त्यसै गरि एउटा निर्वाचन क्षेत्र भएका जिल्लामा कम्तिमा १ प्रदेश सभा क्षेत्र र दुई वा दुई धन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा कम्तिमा २ वटा प्रदेश सभा क्षेत्र कांग्रेसले आफूलाई शुनिश्चित गरेर भागवन्डा गर्नु उचित हुन्छ ।

हरेक दल भित्र बढ्दै गइरहेको अराजकताले स्वयं दल भित्रै अन्तर्घात हुने, खरिद विक्रि हुने, अनेकानेक सौदावाजी हुने सक्ने यो परिवेशमा पार्टी कार्यकर्तालाई गठवन्धनको मर्मअनुशार क्रियाशील गराउन निकै सुझवुझ पु¥याउनु पर्ने हुन्छ । नत्र भने गठवन्धन हसियाका चुच्चा जोडिए जस्तो मात्र हुनेछ ।

त्यसै गरि गठवन्धनको अहंकारमा जनतासँग सापेक्ष सम्बन्ध नभएका आफ्ना निजी समवन्धीहरुलाई उम्मेद्वार बनाईयो भने यो गठवन्धनले दुष्परिणाम भोग्ने निश्चित छ । २१ औं शताब्दिका जनता निकै सचेत भैसकेका छन् । गठवन्धनको रंङ्गिन क्रेटमा कुहिएका अण्डा विक्रि हुन्न कि मान्यवर !

(लेखक चौलागाईँ नेपाली कांग्रेसका नेता हुन)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *