विश्व

चीनमा ६१ वर्षयताकै सबैभन्दा गर्मी: कृत्रिम वर्षाको प्रयास असफल

काठमाडौँ । चीनमा ६१ वर्षयताकै सबैभन्दा गर्मी र खडेरीका कारण विद्युत् सङ्कट उत्पन्न भएको छ । धेरै सहरहरू अन्धकारमा डुबेका छन्। बिजुलीको अभाव हटाउन चीनमा सपिङ मल ५ घण्टा मात्रै खोल्न निर्देशन दिइएको छ । सांघाईको प्रसिद्ध स्काइलाइन बन्डमा बत्ती निभाइने गरेको छ ।

फक्सवागन, एप्पल र टोयोटा जस्ता कम्पनीका प्लान्टमा काम रोकिएको छ । चीनमा अगस्ट १८ मा सिचुवान प्रान्तको चोङकिङ सहरको तापक्रम ४५ डिग्री पुगेको छ, जुन चीनको सिन्जियाङ प्रान्तको मरुभूमि क्षेत्र बाहिर अहिलेसम्मकै उच्च तापक्रम हो ।

अगस्ट २० मा, चोङकिङ सहरको न्यूनतम तापक्रम ३४.९ डिग्री रेकर्ड गरिएको थियो, जुन चीनमा अगस्ट महिनामा रेकर्ड गरिएको उच्च तापक्रम हो । त्यस दिनको अधिकतम तापक्रम ४३.७ डिग्री थियो ।

देशका मध्य र दक्षिण पश्चिम क्षेत्रका दर्जनौं सहरको तापक्रम ४० डिग्री नाघेको छ । सिचुआन प्रान्तका एक दर्जन सहर सबैभन्दा बढी प्रभावित भएका छन् । यति मात्र होइन, याङ्त्जे नदी बेसिनमा अवस्थित सांघाईले पनि गर्मीको सामना गरिरहेको छ ।

मंगलबार चीनका १६५ सहर र काउन्टीहरूमा चेतावनीसहित रेड अलर्ट  जारी गरिएको थियो । चीनको मौसम विभागले यी क्षेत्रको तापक्रम आगामी केही दिन ४० डिग्रीसम्म रहने सम्भावना व्यक्त गरेको छ । बढ्दो तापक्रमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।

चीनमा खडेरी

अत्यधिक गर्मीसँगै वर्षाको अभावले चीनको समस्या थपिएको छ । जुलाईमा अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत कम वर्षा भएको छ, जुन सन् १९६१ यता जुलाई महिनामा रेकर्ड गरिएको सबैभन्दा कम वर्षा हो ।

खडेरीले चीनको सिचुआन, हुबेई, हुनान, जियाङ्सी, आन्हुई र चोङकिङ प्रान्तका २४ करोड ६० लाख मानिस र २२ लाख हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको थियो । चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार खडेरीका कारण ७.८० लाखभन्दा बढी मानिसलाई सरकारको प्रत्यक्ष सहयोगको खाँचो छ ।

याङ्त्जे चीनको सबैभन्दा लामो र विश्वको तेस्रो सबैभन्दा लामो नदी हो । तिब्बतको पठारबाट निस्किएको यो चार हजार माइलको लामो यात्रापछि शाङ्घाई नजिकै पूर्वी चीन सागरमा पर्छ । यसले चीनको सबैभन्दा उर्वर कृषि भूमिमा सिँचाइ गर्छ । याङजी नदीले चीनका ४० करोड मानिसलाई पिउने पानी उपलब्ध गराउँछ । तर यसपटक खडेरीका कारण यसको मूल धारामा पानीको बहाव विगत ५ वर्षको औसतको ५० प्रतिशतभन्दा कम भएको छ ।

केही विश्लेषकहरू खडेरी र गर्मीले चीनको मध्य र याङ्त्जे नदी बेसिन क्षेत्रमा धान र मकैको उत्पादनमा असर पर्ने विश्वास गर्छन् । विज्ञहरूका अनुसार मकै बाली अत्याधिक गर्मी वा पानीको कमीले उत्पादनमा क्षति पुर्याउने चरणमा पुगेको छ । यस्तो अवस्थामा चीनले ब्राजिल र अमेरिकाबाट चीनमा मकै आयात गर्नुपर्ने हुनसक्छ ।

तरकारी महँगो, अण्डाको मूल्य बढ्यो

रिपोर्टका अनुसार सिचुआन र याङ्जी नदी छेउछाउका धेरै प्रान्तहरूमा गर्मीको लहर र खडेरीका कारण तरकारीको मूल्य ह्वात्तै बढेको छ । तरकारीको मूल्य जुनमा ३.७ प्रतिशतको तुलनामा जुलाईमा १२.९ प्रतिशतले बढेको छ । अगस्तमा यो संख्या थप बढेको छ ।

गर्मीमा कुखुराले २–३ प्रतिशत कम अण्डा उत्पादन गरिरहेका छन्, जसका कारण अन्हुइ जस्ता केही प्रान्तमा अण्डाको मूल्य ३० प्रतिशतले बढेको छ ।

चीनमा विद्युत संकटका कारण धेरै ठूला कारखाना बन्द

चीनले आफ्नो आवश्यकताको करिब १५ प्रतिशत विद्युत् पानी अर्थात् जलविद्युतबाट उत्पादन गर्छ । कम वर्षाका कारण यसको जलविद्युत क्षमतामा प्रतिकूल असर परेको छ ।

८४ मिलियन जनसङ्ख्या भएको सिचुआन प्रान्तले २०२१ मा आफ्नो आवश्यकताको ८० प्रतिशत जलविद्युतबाट उत्पादन गरेको छ। यस वर्षको अगस्टमा सिचुआन प्रान्तमा जलविद्युतका लागि आवश्यक पानीको उपलब्धता ५० प्रतिशतले घटेको छ भने गर्मीका कारण विद्युतको माग २५ प्रतिशतले बढेको छ ।

बढ्दो गर्मीका कारण चीनमा एसीको माग ह्वात्तै बढेको छ, जसका कारण पावर ग्रिडमा थप लोड हुन थालेको छ ।

बिजुली संकटका कारण सांघाईको बुन्ड भनेर चिनिने स्काईलाइनले अगस्ट २२ देखि बत्ती नबाल्ने निर्णय गरेको छ । बिजुली बचत गर्न यो निर्णय गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

त्यस्तै चीनको चोङकिङ सहरमा विद्युत् कटौतीका कारण मल खुल्ने समय छोटो पारिएको छ । तापक्रम र माग कम नभएसम्म सबै सपिङ मलहरू साँझ ४ बजेदेखि राति ९ बजेसम्म मात्र खोल्न सकिने अधिकारीहरूले बताएका छन् ।

त्यसैगरी चीनका धेरै शहरहरूमा कारखानाहरूलाई एक हप्ताको लागि काम रोक्न वा उत्पादन घटाउन आदेश दिइएको छ। जर्मन कार कम्पनी फक्सवागनले सिचुआनको राजधानी चेङ्दुमा रहेको आफ्नो कारखाना विद्युत् कटौतीका कारण बन्द भएको जनाएको छ । फक्सवागनका प्रवक्ताले कम्पनीका कारको डेलिभरीमा ढिलाइ हुनसक्ने बताएका छन् । 

एप्पलको सप्लायर फक्सकनले पनि सिचुआनमा रहेको आफ्नो प्लान्ट तत्कालका लागि बन्द गरेको छ । टोयोटाको प्लान्टको काम पनि बन्द छ । सिचुआन र चेङकिङमा विद्युतीय सवारी साधनका मालिकहरूले रिचार्जिङ स्टेशनहरू बन्द भएको गुनासो गरेका छन् । 

चीनको कृत्रिम वर्षाको प्रयास पनि असफल

चीनले चर्को गर्मीसँग जुध्न याङ्जी नदी वरपरको खडेरी प्रभावित क्षेत्रमा वर्षा ल्याउन क्लाउड सीडिङ अपरेसन पनि सञ्चालन गरेको छ। हुबेई र अन्य धेरै प्रान्तहरूमा वर्षा ल्याउन रासायनिक बोक्ने रकेटहरू प्रक्षेपण भइरहेको छ, तर बादलको आवरण नहुँदा प्रयास असफल भयो।

कृत्रिम रूपमा बादललाई वर्षामा रूपान्तरण गर्ने प्रविधिलाई क्लाउड सीडिङ भनिन्छ । क्लाउड सिडिङका लागि सिल्भर आयोडाइड, पोटासियम आयोडाइड र ड्राई आइस (ठोस कार्बन डाइअक्साइड) जस्ता रसायनहरू हेलिकप्टर वा विमानबाट आकाशमा बादलको छेउमा छरिन्छन् ।

यी कणहरूले हावामा बाफलाई आकर्षित गर्छन्, कम्युलोनिम्बस बादल बनाउँछन् र अन्ततः वर्षा हुन्छ । यसरी पानी पर्न सामान्यतया आधा घण्टा लाग्छ ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *